१९ असार २०८३, शुक्रबार

एमालेको प्रवासी नेपाली मञ्चप्रति मलेसियामा क्रेज, एकै दिन ५९९ जनाले लिए सपथ

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


मलेसिया, २८ माघ। नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवं प्रवास इञ्चार्ज डा. राजन भट्टराईले मलेसियामा आज एकै दिन ५ सय ९९ जना नयाँ पार्टी सदस्यलाई सपथ गराउनुभएको छ ।

नेकपा ९एमाले०को प्रवास संगठन प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको बैठकको अवसर पारेर मलेसिया राष्ट्रिय कमिटीले आज क्वालालम्पुरमा आयोजना गरेको कार्यक्रममा मञ्चका इञ्चार्ज डा। भट्टराईले ५ सय ९९ जनालाई सपथ गराउनुभएको हो । यतिको संख्यामा एकैपटक सपथ गराइएको प्रवासी नेपाली मञ्चको इतिहासमा यो पहिलोपटक हो ।

प्रवासी नेपाली मञ्च मलेसियाले आगामी एक वर्ष भित्र ३ हजार पार्टी सदस्य संख्या पुराउने योजना बनाएको बताउँदै उहाँले ३ हजार संख्या पुगेपछि अर्को वर्ष पार्टीका अध्यक्ष केपी शर्मा ओलीको आतिथ्यतामा मलेसियामा कार्यक्रम गरिने डा. भट्टराईले उदघोष गर्नुभयो ।

कार्यक्रममा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा, अन्तर्राष्ट्रिय सल्लाहकार कमिटीका अध्यक्ष बेलायत निवासी भक्त गुरूङ, एशिया महादेश कमिटीका इञ्चार्ज हङकङ निवासी भक्त गुरूङ, एशिया महादेश कमिटीका संयोजक मोहन रायमाझीले आजको दिन मञ्चको इतिहासमा असाध्यै सुखद दिन भएको बताउँदै मञ्चले मलेसियामा गरेको कामको उच्च प्रशंसा गर्नुभयो ।

उहाँहरूले प्रवासी नेपाली मञ्चको अन्तराष्ट्रिय कमिटीले वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशहरूमा कार्यरत श्रमिक नेपालीलाई आकस्मिक रूपमा आइपर्ने समस्या सम्बोधन गर्न एक करोड नेपाली रुपैँयाको “प्रवासी नेपाली मञ्च श्रमिक राहत कोष” खडा गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

कार्यक्रमको अध्यक्षता गर्नुभएका प्रवासी नेपाली मञ्च मलेसियाका अध्यक्ष दयाराम कुमालले पनि मलेसियामा एक करोड रूपैंयाको छुट्टै कोष बनाउने लक्ष्यका लागि आज ५१ हजार रिंगिट (१५ लाख रूपैंया)  घोषणा गर्नुभयो । यसैगरी, प्रवासी नेपाली मञ्च एशिया महादेश कमिटीका सदस्य तथा मलेसियाका पूर्वअध्यक्ष शेरबहादुर गुरूङले १६ लाख ६६ हजार ६ सय ६६ रूपैंया ६६ पैसा कोषमा सहयोगको घोषणा गर्नुभयो ।

कार्यक्रममा मञ्चको अन्तर्राष्ट्रिय कमिटीका पदाधिकारी तथा ३५ देशका सदस्यहरूको उपस्थिति थियो भने गायक जीवन शर्मा लगायतले सांस्कृतिक कोसेली पस्कनुभएको थियो ।