१ असार २०८३, सोमबार

जीतपुरसिमरामा पहिलो पटक महोत्सव हुँदै

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, २७ माघ । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा पहिलो पटक महोत्सव हुने भएको छ । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको आयोजनामा प्रथम जीतपुरसिमरा महोत्सव २०८० हुने भएको हो ।

आगामी फागुन १८ गते देखि ३० गतेसम्म जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ स्थित बजनीमा महोत्सव आयोजना गरिने जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले जानकारी दिनुभयो । उद्योग, कृषि र पर्यटनलाई प्राथमिकता दिएर आयोजना गर्न लागिएको महोत्सवले समग्र आर्थिक क्षेत्रमा टेवा पुग्ने अपेक्षा गरिएको अध्यक्ष शर्माले बताउनुभयो ।

महोत्सवले स्थानीय कृषि उत्पादनका हिसाबले देशभर प्रख्यात रहेको र बारामा पर्यटनका लागि पनि महत्वपूर्ण छ भन्ने पुष्टि गराउने अध्यक्ष शर्माले बताउनुभयो । उहाँले बारामा रहेका विभिन्न मठमन्दिरको प्रचारप्रसारलाई समेत महोत्सवमा जोडिने बताउनुभयो ।

उहाँले महोत्सवले बाराको पहिचान बनाउँदै देशकै उत्कृष्ट महोत्सवका रुपमा स्थापित हुने अपेक्षा रहेको जनाउनुभयो ।

बाराको आर्थिक तथा सामाजिक उत्थान गर्न कृषि उपज वस्तु र प्रविधिको प्रदर्शनी, सूचना प्रविधिको प्रदर्शनी, बालबालिका तथा युवाहरुको मुख्य आकर्षण रुपमा रहँदै आएको बाल उद्यान, आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन, संस्कृतिको जर्गेना गर्ने उद्देश्य महोत्सव आयोजना गर्न लागेको अध्यक्ष शर्मा जनाउनुभयो ।

महोत्सवमा कृषि र स्थानीय उत्पादनलाई सहुलियतमा स्टल उपलब्ध गराइने आयोजकले जनाएको छ । आयोजकका अनुसार महोत्सवमा २०० स्टल रहनेछ भने महोत्सवमा तीन लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।

महोत्सवको मुख्य उद्देश्य स्थानीय उत्पादन कृषि तथा ग्रामीण प्रविधिको प्रयोग गर्ने, उत्पादित वस्तुको बजार प्रवर्द्धन एकै थलोबाट यसको गुणस्तरको पहिचान गराउँदै उपभोक्तासम्म पुर्‍याउने रहेको छ ।

महोत्सवले कृषि जन्य घरेलु तथा साना उद्योगहरुको प्रवर्द्धन गर्न आवश्यक ज्ञान, उद्यमशीलता र प्रविधि हस्तान्तरण गर्नसमेत सहयोग पुग्ने अपेक्षा आयोजकको छ । त्यस्तै मेलाले आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन गर्न सहयोग मिल्नेछ । मेलामा कृषि उपज वस्तु र प्रविधिको प्रदर्शनी गरिनेछ भने विविध सांस्कृतिक कार्यक्रमसमेत हुने आयोजकले जनाएको छ ।

महोत्सवमा सबै जातजाति भाषा संस्कृति झल्किने नृत्य गायन कार्यक्रम, नगरपालिका भित्र रहेका विद्यालयका विद्यार्थीहरुबीच डान्स आईडल, व्यवसायिक स्टल र नेपाली सेना आर्मीको विषेश कार्यक्रमहरु समावेश गरिएको बताइएको छ । महोत्सवमा ख्याती प्राप्त कलाकारहरुको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ ।