
काठमाडौं, २५ माघ । व्यवसायीलाई फोनमार्फत् धम्की दिई पाँच करोड रकम माग गरेको आरोपमा पोखरामा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पर्वत कुश्मा नगरपालिका(२ खुर्कोट घर भई हाल पोखरा महानगरपालिका-८ सिमलचौर बस्ने ३६ वर्षीय लक्ष्मण दर्जी र कुश्मा नगरपालिका-१४ घर भई हाल पोखरा महानगरपालिका-८ सिमलचौर बस्ने ४२ वर्षीय दीपकबहादुर क्षेत्री रहनु भएको छ ।
उहाँहरूलाई बुधबार सिमलचौरस्थित डेराबाट पक्राउ गरिएको कास्कीका प्रहरी उपरीक्षक मोनकुमार थापाले बताउनुभयो । दुबैलाई प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। थापाका अनुसार दर्जी र क्षेत्रीले पोखरा महानगरपालिका-१६ लामाचौर घर भई त्यहीँ रहेको सच्चाई सेवा केन्द्रका सञ्चालक प्रकाशदीप गैरेलाई फोन तथा म्यासेजमार्फत् पाँच करोड माग गर्नुभएको थियो ।
सच्चाई केन्द्र नेपालका केन्द्रीय अध्यक्षसमेत रहनुभएका गैरेलाई उहाँहरूले हिन्दी भाषामा कुराकानी र एसएमएस गरी पाँच करोड रुपैयाँ माग गर्नुभएको थियो । रकम नदिए उहाँहरूले गैरे र उहाँको परिवारलाई ज्यान मार्ने धम्की दिनुभएको खुलेको छ । गत माघ १८ गतेदेखि निरन्तर फोन र एसएमएसमा धम्की आउन थालेपछि गैरे प्रहरीमा पुग्नु भएको थियो ।
गैरेको निवेदन परेपछि खोज्दै जाँदा दुबैलाई धम्की दिन प्रयोग गरिएको सिम, मोबाइललगायत अन्य सामग्रीसहित पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया