११ कार्तिक २०८३, बुधबार

अर्काको नागरिकतामा ज्वाइँको फोटो टाँसेर मेनपावर खोलेर लाखौं ठगी

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ माघ । वैदेशिक रोजगारीका लागि छ्यासछ्यास्ती खुलेका मेनपावरहरूबाट कसरी मानिसहरू ठगिन्छन् भन्ने दृष्टान्त सार्वजनिक भएको छ। वैदेशिक रोजगारीका लागि युरोपियन मुलुक पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेपछि रहस्य बाहिर आएको हो।

पक्राउ पर्नेमा सर्लाही हरिवन नगरपालिका घर भई हाल ललितपुर महानगरपालिका-९ नख्खु बस्ने ३५ वर्षीय रामेश्वर सिंह र धनुषा मिथिला नगरपालिका-२ नक्टाजिच घर भई हाल ललिपुर-१८ बस्ने २७ वर्षीय रामसेवक सिंह हुनुहुन्छ । उहाँहरूले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार ललितपुर-९ मिलन टोलबाट पक्राउ गरेको हो।

कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक मिलन केसीका अनुसार उनीहरूले राजकुमार बजगाईंसहित ५५ जनालाई युरोपियन मुलुक पठाइदिने भन्दै ६३ लाख रुपैयाँ ठगी गरेको पाइएको छ। प्रतिव्यक्ति सात लाख रुपैयाँ लाग्ने र युरोप पुगेपछि मासिक १ लाख ५५ हजार रुपैयाँ तलब हुने भन्दै दुबै जनालाई पटक-पटक गरी पीडितहरूबाट उक्त परिमाणको रकम उठाएको केसीले बताउनुभयो ।

‘रकम उठाएर सम्पर्कविहीन भएपछि पीडितहरूले जाहेरी दिएका थिए,’ केसीले भन्नुभयो, ‘खोजी तथा अनुसन्धानको शिलशिलामा दुबै जनालाई उनीहरू बसेको स्थानबाट पक्राउ गरिएको हो।’ केसीका अनुसार रामेश्वर सिंहले आफूलाई सरोज यादव र नागेन्द्र यादव बताउने गर्नुभएको थियो । रामसेवकले आफूलाई सरोज यादव रहेको बताउनुहुन्थ्यो ।

रामसेवक रामेश्वरका ज्वाइँ हुनुहुन्छ। उहाँहरूले अर्काको नागरिकतामा आफ्नो फोटो टाँसेर ओभरसिज नै खोलेको पाइएको छ। रामेश्वर बजाज ओभरसिजमा २०७४ सालदेखि कर्मचारीको रूपमा एक वर्ष काम गरेका व्यक्ति हुन्। उनले त्यही साल फागुनमा भेरी ओभरसिज किनेर सञ्चालन गर्नुभएको थियो ।

उक्त ओभरसिजमा सक्रिय रहँदा उहाँले दुई सय जनाबाट तीन करोड ठगी गरेको पाइएको छ। उक्त ठगीमा एक वर्ष ६ महिना जेल बसेर छुटेको केसीले बताउनुभयो । भेरी ओभरसिजमा विदेश जान पेश गरेका धनुषाका सरोज यादव, नागेन्द्र यादव र गुरुदेव यादवको नागरिकताको प्रमाण पत्रमा उनले आफ्ना ज्वाइँ रामसेवकको फोटो टाँसे। त्यसबाट उहाँले विराट कन्सल्टेन्सी विर्तामोड, गडिमाई कन्सल्टेन्सी काठमाडौं र कमलामाई कन्सल्टेन्सी दर्ता गर्नुभएको थियो ।

ती ओभरसिजबाट उहाँले रोमानिया, जर्मनी, अफगानिस्तान, क्रोएसिया पठाउने भनी ४८ जनाबाट प्रतिव्यक्ति सात लाख रुपैयाँसम्म उठाउनु भएको थियो । सरोज यादव, नागेन्द्र यादव र गुरुदेव यादवको नाममा कुमारी बैंक, एनआइसी एसिया बैंक र कामना विकास बैंकमा खाता खोलेको भेटिएको छ। ती तिनै बैंकमा कारोबार रामसेवक सिंहबाट गर्ने गरेको खुलेको छ।

यादवत्रयलाई भने आफ्नो नागरिकता दुरुपयोग भएर धेरै व्यक्ति ठगिएको जानकारी थिएन। उहाँहरू सबै जना गाउँमा कृषि पेशा गरेर बस्नुहुन्थ्यो । यता, पीडितहरूले सरोज यादव, नागेन्द्र यादवका विरुद्धमा वैदेशिक रोजगार विभागमा जाहेरी दिनुभयो। यसपछि अनुसन्धान गर्दै जाँदा ठगी कार्यमा रामेश्वर सिंहले आफ्ना ज्वाइँ रामसेवक सिंहको फोटो टाँसेर ती व्यक्तिको नागरिकता दुरुपयोग गरेको खुलेको केसीले जानकारी दिनुभयो ।

रामेश्वरविरूद्ध २०७८ सालमा ठगी मुद्दा दर्ता भएको थियो। उक्त मुद्दामा उहाँ फरार हुनुहुन्थ्यो । २०७९ सालमा सिन्धुली जिल्लामा लागुऔषध मुद्दा चलेकोमा उहाँ २४ दिन कैद र दुई जरिवाना भई मुक्त हुनुभएको थियो । पक्राउ परेकाको साथबाट विभिन्न व्यक्तिका नाममा काटिएको ६० लाख बराबरको २५ थान चेक र ९ वटा सिम कार्ड फेला परेको छ।

दुबैविरूद्ध ठगी, किर्ते जालसाजी, बैकिङ कसुरलगायतका मुद्दामा अनुसन्धान हुने केसीले बताउनुभयो ।