२६ जेष्ठ २०८३, मंगलबार

समृद्धि अभियान साकार पार्न एमालेको बहुमत सरकार आवश्यक छ : अध्यक्ष ओली

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी, २३ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धि अभियान साकार पार्न आफ्नो पार्टीको बहुमतको सरकार आवश्यक भएको बताउनुभएको छ ।

सोमबार महोत्तरीको जलेश्वरमा नेकपा (एमाले)को छैटौँ जिल्ला अधिवेशन उद्घाटन गर्नुहुँदै ओलीले देशको नेतृत्व गर्ने अवसरका लागि आफ्नो दलले अब २०८४ को चुनावको प्रतीक्षा गरिरहेको बताउनुभयो ।

“हामी जिम्मेवारीसाथ मुलुकको नेतृत्व गर्न चाहन्छौँ, तर अहिलेको गठबन्धन भत्काउनतिर हामी लाग्दैनौँ”, अध्यक्ष ओलीले भन्नुभयो ।

उहाँले आफू नेतृत्वको सरकारले थालेका विकास–निर्माणका परियोजनालाई गठबन्धन सरकारले बेवास्ता गरेको आरोप लगाउनुभयो ।

अध्यक्ष ओलीले दक्षता, क्षमता र कामप्रतिको तत्परता बढाउन आफ्ना पार्टीका नेता तथा कार्यकर्तासँग अपिल गर्नुभयो । “अवसर पाइन भनेर मन कुँड्याएर नबस्नोस्, योग्यता बढाउनोस्, अवसर तपाईंलाई खोज्दै आइपुग्छ,” उहाँले भन्नुभयो । जनताबीच विनम्र भएर प्रस्तुत हुने कार्यकर्ता एमालेका हुनपर्ने उहाँको भनाइ थियो ।

एमालेका केन्द्रीय सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई, अर्का सचिव रघुवीर महासेठले देश निर्माणको जिम्मेवारी पुनः नेकपा एमालेको काँधमा आउने बताउनुभयो । उहाँहरुले त्यसका लागि अझै चार वर्ष भने पर्खनुपर्ने बताउनुभयो ।