
काठमाडौं, २२ माघ । सभामुख देवराज घिमिरेले राष्ट्रका साझा मुद्दाहरुमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको एकता आवश्यक भएको बताउनु भएको छ ।
सोमबार प्रतिनिधिसभाको बैठकमा उहाँले ऐन निर्माणमा संख्यात्मक नतिजा प्राप्त हुन नसकेको भन्दै चालु अधिवेशनमा मुलुकलाई आवश्यक कानून निर्माण गर्ने र संसदीय गतिविधिहरु थप प्रभावकारी र व्यवस्थित बनाउने प्रण गर्न जरुरी देखिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘ऐन निर्माणमा संख्यात्मक नतिजा प्राप्त हुन नसके पनि एक वर्षको बीचमा पर्याप्त गृहकार्य भएका छन् । चालु अधिवेशनमा मुलुकलाई आवश्यक कानुन निर्माण गर्ने र संसदीय गतिविधिहरु थप प्रभावकारी र व्यवस्थित बनाउने प्रण गर्न जरुरी देखिएको छ । राष्ट्रका साझा मुद्दाहरुमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको एकतालाई निरन्तरता दिनै पर्छ भन्ने मैले दृढता व्यक्त गर्न चाहन्छु ।’
उहाँले विगतका दुई अधिवेशनमा संसदका नियमावलीको निर्माण तथा विगतका समितिहरुले पूर्णता पाएसँगै संसदीय गतिविधिहरु क्रियाशील र जीवन्त हुँदै गएको पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एउटा महत्वपूर्ण थलो हो । संसदीय प्रणालीमा संसदको काम कानुन निर्माणसँगै सरकारको गठन र नियन्त्रण गर्ने जनसरोकारका मुद्दाको सम्बोधन गर्ने सरकारलाई निर्देश गर्ने हो । विगतका दुई अधिवेशनमा संसदका नियमावलीको निर्माण तथा विगतका समितिहरुले पूर्णता पाएसँगै संसदीय गतिविधिहरु क्रियाशील र जीवन्त हुँदै गएको महसुस गरेको छु ।’









प्रतिक्रिया