२८ असार २०८३, आइतबार

केपी ओली नेतृत्वको सरकार ढलेपछि देशमा निराशा छायो : शंकर पोखरेल 

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ माघ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले केपी ओली नेतृत्व सरकारले विकास र समृद्धिमा असाधारण फड्को मारिरहेको बेला सरकार ढाल्ने काम गरिएको बताउनुभएको छ ।

नेकपा एमाले दोलखाको १० औँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सोमबार चरिकोटमा सम्बोधन गर्दै महासचिव पोखरेलले एमाले सरकार ढलेसँगै जनतामा निराशा जागेको बताउनुभयो । एउटा गतिमा काम गरिरहेको सरकार ढालेर विकासका काम ठप्प पार्दा नागरिकमा निराशा छाउनु स्वाभाविक भएको पोखरेलको भनाइ छ ।

महासचिव पोखरेलले केपी ओली नेतृत्व सरकारले अभूतपूर्व काम गरेको बताउनुहुँदै मनमोहन अधिकारी नेतृत्वको सरकारले गरेको लोककल्याणकारी सरकारको कामलाई विस्तार गरी काम गरिरहेको ओली नेतृत्वको सरकारलाई सत्ताबाट हटाएपछि नेपाली जनतामा निराशा बढेको टिप्पणी गर्नुभयो ।

काम गरिरहेको सरकारलाई अलोकतान्त्रिक विधि, षडयन्त्रपूर्ण तरिकाले हटाएको पोखरेलको भनाइ छ । दलीय अनुशासन उलङ्घन गरी आफ्नै पार्टीका नेताहरू ओली नेतृत्वको सरकार हटाउन लागेका उहाँको भनाइ छ ।

कम्युनिष्ट पार्टीको सरकार हटाएर कांग्रेस नेतृत्वको सरकार बनाउन पुग्ने पुष्पकमल दाहाल र माधव नेपाल कम्युनिष्ट नभएको उहाँले स्पष्ट पार्नुभयो । ‘अब नेपालमा कम्युनिष्ट आन्दोलनलाई नेतृत्व गर्न सक्ने सामर्थ्य अरू कुनै पार्टीसँग रहेन, अब त्यो नेकपा एमालेसँग मात्रै छ’, पोखरेलले भन्नुभयो ।

नेपालको कम्युनिष्ट आन्दोलनलाई फेरी बलियो बनाएर अघि बढाउनु पर्ने बताउँदै सबै कम्युनिष्टलाई एकताबद्ध गरी एमालेलाई एक बनाएर लैजानु पर्नेमा उहाँले जोड दिनुभयो । मुलुकमा आर्थिक सामाजिक रूपान्तरणको आवश्यकता रहेको र त्यसको लागि बलियो राजनीतिक शक्ति आवश्यक पर्ने भएकाले नेकपा एमालेलाई अघि बढाउन एकताबद्ध हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

देशलाई माया गर्ने, स्वाभिमानको पक्षमा लागेका, स्थिरताको पक्षमा रहेका र स्वाधीनताको आन्दोलनमा रहेका सबैलाई पोखरेलले एमालेमा एकताबद्ध हुन आह्वान गर्नुभयो । एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउँदा मात्र देशले समृद्धिको लक्ष्य हासिल गर्ने उहाँले स्पष्ट पार्नुभयो ।