
काठमाडौं, २२ माघ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ । उक्त ऋणपत्र फागुन १ गतेदेखि निष्कासन गर्ने भएको हो ।
बैंकले प्रतिएकाई १ हजार रुपैयाँको दरमा ४० लाख ४० हजार एकाई ऋणपत्र जारी गर्ने जनाएको हो ।
यसमध्ये बैंकले आफ्नै पहलमा १६ लाख १६ हजार इकाई अन्य संघसंस्थालाई बिक्री गर्ने भएको हो । सर्वसाधारणका लागि बाँकी २४ लाख २४ हजार एकाई खुला हुने बैंकले जनाएको छ । यसमध्ये सामूहिक लगानी कोषहरुका लागि ५ प्रतिशत अर्थात ८० हजार ८०० कित्ता ऋणपत्र छुट्याइएको छ ।
नेपाल इन्भेष्टमेण्ट मेगाले १० वर्ष अवधिको (१० प्रतिशत एनआइएमबी डिबेन्चर २०९०) जारी गर्न लागेको हो ।
यसैगरी बिक्री प्रबन्धक प्रभु क्यापिटलले वार्षिक १० प्रतिशत ब्याजदर दिने बैंकले जानकारी दिएको छ ।
यस ऋणपत्रमा फागुन ४ गतेसम्म आवेदन दिन पाइनेछ भने उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा फागुन १५ गतेसम्म खुला रहने बैंकले जनाएको छ । यसमा न्यूनतम २५ एकाईदेखि अधिकतम १० लाख एकाईसम्म आवेदन दिन सकिनेछ । यस ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।















प्रतिक्रिया