
काठमाडौं, २१ माघ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देशमा निराशा बढेको कारण युवा विदेश पलायन भएका बताउनु भएको छ ।
आइतबार काठमाडौंमा सहिद दिवसको सन्दर्भमा आयोजित सहादतको मर्म विषयक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले जनताले रोजेका शक्तिलाई बाहिर राखेर शासन सञ्चालन गर्दा नागरिकमा निराशा बढ्ने बताउनुभएको हो । ‘जनताले रोजेका शक्तिहरूको भूमिका राजनीतिमा कम भयो भने, जनताले अस्वीकार गरेका शक्ति नै राजनीतिक किङमेकर बने भने जनतामा फ्रष्टेसन त आउँछ आउँछ’, उहाँले भन्नुभयो ।
जनताबाट विस्थापित हुँदै गएको माओवादी र सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालको लोकतन्त्रको आर्किटेक्चर जस्तो बनेको पौडेलले बताउनुभयो । नेपालको लोकतन्त्रका लागि सदैव लडिरहेका राजनीतिक दल र नेता माओवादी अध्यक्ष प्रचण्डका सहयोगी मात्र बन्ने अवस्था आएको पोखरेलको भनाई छ ।
राजनीतिक परिवर्तन समाज परिवर्तनका माध्यम बन्नु पर्नेमा राजनीतिक परिवर्तनलाई लक्ष ठानिएको कारण अहिलेको अवस्था आएको उहाँले बताउनुभयो । राजनीतिक परिवर्तनलाई समाज परिवर्तनको धेय र उद्देश्य बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो । राजनीतिक परिवर्तनको लागि राजनीतिक दलको एकता आवश्यक पर्ने तर विकासको लागि भने नीतिगत स्पष्टता आवश्यक रहने पोखरेलको धारणा छ । पोखरेलले गठबन्धनका माध्यमबाट विकास नहुने र धेरै राजनीतिक दल हुँदा देशमा स्थिरता नहुने प्रष्ट पार्नुभयो । राजनीतिक स्थिरता र विकासका लागि थोरै र बलिया राजनीतिक दलको आवश्यकता रहेको पोखरेलले औँल्याउनुभयो ।
पोखरेलले नेपालको राजनीतिमा दाउपेचको राजनीति प्रवेश गरेको बताउनुभयो । त्यसले राजनीतिमा स्वार्थ समूहले प्रवेश गरेको पोखरेलले टिप्पणी गर्नुभयो । यसले नेपालको राजनीतिमा सहिदको भावनालाई स्थापित गर्न नसकिएको उहाँले बताउनुभयो ।
नेपालका राजनीतिक दल राजनीतिक परिवर्तनमा च्याम्पियन भएका भए पनि त्यसलाई संस्थागत गर्ने कुरामा भने चुकेका पोखरेलले बताउनुभयो । राजनीतिक परिवर्तनबाट नागरिकको जीवनमा परिवर्तन गर्ने कुरामा नेपाली राजनीतिक दल चुकेका पोखरेलले बताउनुभयो । नेपालका राजनीतिक दल सहिदको भावनालाई सम्बोधन गर्न चुकेका उहाँको धारणा छ ।
पुष्पलाल र बीपीका बिचमा राम्रो सम्बन्ध भए पनि बीपी जीवित हुँदासम्म कम्युनिष्टसँग मिलेर पञ्चायत विरुद्ध आन्दोलनमा जान नचाहेको कारण पञ्चायत लम्बिएको पोखरेलले बताउनुभयो । २०४६ सालमा गणेशमान सिंह संयुक्त जनआन्दोलनमा जान तयार भएपछि मात्र पञ्चायत फालिएको उहाँले स्मरण गराउनुभयो ।
२०४७ सालको संविधान कांग्रेस र बाममोर्चा मात्रै मिलेर जारी गरेका भए नेपालको संविधान र व्यवस्था त्यतिबेला नै निक्कै बलियो हुने र माओवादी आन्दोलन सुरु नहुने उहाँले धारणा राख्नु भयो । तर त्यतिबेला कांग्रेस र राजा मिल्दा वामपन्थीले अलग धारणा राख्नु पर्ने स्थिति आएको पोखरेलले बताउनुभयो ।
२०६२र०६३ को परिवर्तन हिंसात्मक आन्दोलनबाटै स्थापित भएको भन्ने भ्रम माओवादीले फिँजाउने प्रयास गरेको कारण राजनीतिक अन्यौलता र अस्थिरता बढेको उहाँले बताउनुभयो । सो आन्दोलनमा प्रमुख भूमिका खेल्ने कांग्रेस, एमाले लगायतका दलहरूको योगदानलाई छोप्ने प्रयास भएको भन्दै उहाँले आलोचना गर्नुभयो ।
पोखरेलले नेपालमा सहिदको परिभाषालाई नै पुन परिभाषित गर्न आवश्यक रहेको बताउनुभयो । सहिदका रूपमा सम्मान गर्नुपर्नेलाई राज्यले सम्मान गर्न उदासीनता देखाएको र सहिदको मान्यता दिनु नपर्नेलाई सम्मा गरेको स्थिति रहेको पोखरेलले टिप्पणी गर्नुभयो ।
सहिदलाई कहिल्यै पनि पैसामा तुलना गर्न नहुने पोखरेलको धारणा छ । तर अहिले सहिदलाई पैसामा मोलतोल गर्ने प्रयास भएको भन्दै उहाँले आपत्ति जनाउनुभयो । कोही मान्छे मर्यो भने राज्यका तर्फबाट १० लाख दिएर सहिद बनाउने र साहदत प्रतिकै अपमान गर्ने काम गरिएको पोखरेलले बताउनुभयो ।















प्रतिक्रिया