२० असार २०८३, शनिबार

गठबन्धन संस्कृतिले विकास र समृद्धिमा अवरोध, २०८४ मा अन्त्य हुन्छ : केपी ओली

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार जबरजस्ती जोरजाम गरेर बनाएको सरकार भएको बत्ताउनुभएको छ । देशको समृद्धि र स्थिरताका लागि यस्तो गठबन्धन संस्कृति अन्त्य गर्नुपर्ने ओलीको भनाई छ ।

एमाले काठमाडौं जिल्ला कमिटीले काठमाडौंमा आयोजना गरेको युवा महोत्सव–२०८० को शनिबार उद्घाटन गर्दै अध्यक्ष ओलीले गठबन्धन संस्कृति देशको विकास र समृद्धिका लागि घातक भएको बताउनुभयो । ओलीले २०८४ को निर्वाचनबाट गठबन्धन संस्कृति अन्त्य हुने दाबी गर्नुभयो ।

अधिनायकवादी तानासाह, पञ्चायत तथा राजतन्त्र समेत फालेर आएका नेपाली जनतालाई गठबन्धन मिल्काउन पनि समय नलाग्ने उहाँले बताउनुभयो । २०८४ को निर्वाचनबाट जनताले गठबन्धन मिल्काइदिने ओलीले दाबी गर्नुभयो । ‘हामीले अधिनायकवाद, तानासाह, राजतन्त्र, पञ्चायत सबै फ्याक्यौँ भने यो जोरजाम गरेर बनाएको गठबन्धन कुनै ठुलो कुरै होइन’, ओलीले भन्नुभयो ।

गठबन्धन देशको लागि घातक भएको बताउँदै ओलीले गठबन्धनका संस्कृति, कुसंस्कृति अन्त्य गर्नुपर्ने बताउनुभयो । २०८४ को निर्वाचनमा यो समस्याको एकैपटक दबाई हुने ओलीले बताउनुभयो । ‘गठबन्धन जस्तो क्यान्सरको मेजर अप्रेसन २०८४ मा गरिँदै छ’, उहाँले भन्नुभयो ।

उहाँले अर्थतन्त्रको वर्तमान अवस्थाबारे टिप्पणी गर्दै रेमिट्यान्स माथिको निर्भरता उचित नभएको बताउनुभयो । रेमिट्यान्सले चलेको अर्थतन्त्र जस्तो धरासयी अरू केही नभएको भन्दै उनले गठबन्धन सरकार मुलुकको दिगो विकास सुदृढीकरणतर्फ नभई रेमिट्यान्सतर्फ अगाडि बढेको बताउनुभयो ।

गठबन्धनको कारण देशमा निराशा छाएर युवा बिदेसिने क्रम बढेको ओलीले बताउनुभयो । ‘नेपाललाई शिक्षा, स्वास्थ्यको हब बनाउनु पर्नेमा यहाँ शिक्षा र स्वास्थ्यका अवसर समाप्त पार्ने काम भइरहेको छ, आज शिक्षाको लागि बाहिर जानुपर्ने अवस्था छ, यसले एउटा डरलाग्दो निराशा पैदा गरेको छ’, ओलीले भन्नुभयो ।

ओलीले अहिले देशमा धेरै समस्या भए पनि समाधान पनि यहीँ भित्र खोज्नु पर्ने बताउनुभयो । कुनै पनि देश अरू आएर नबनाइदिने बताउँदै ओलीले देश आफैँले बनाउनु पर्ने प्रष्ट पार्नुभयो । अहिलेको देशको समस्या भनेको युवाहरू बाहिरिने क्रम बढ्नु भएको ओलीले बताउनुभयो । युवा विदेश पठाएर गठबन्धन सरकार रेमिट्यान्स आइरहेको छ भनेर खुसी भइरहेको भए पनि यो दिगो नहुने उहाँले स्पष्ट पार्नुभयो । ‘रेमिट्यान्सले चलेको अर्थतन्त्र जस्तो धराशायी अरू केही पनि हुँदैन’, उहाँले भन्नुभयो ।

देशलाई दिगो विकास तर्फ लैजानु पर्ने बताउँदै ओलीले यसको लागि देशमा नै अवसर सिर्जना गर्नुपर्ने प्रष्ट पार्नुभयो । त्यसैले युवालाई देशमा नै बस्ने र गरिखाने वातावरण बनाउनु पर्ने उहाँले बताउनुभयो ।