२४ जेष्ठ २०८३, आइतबार

कान्छो ज्वाइँ र छोरीसहित प्रधानमन्त्री उदयपुरमा, रौतामाई पालिका भवनको उद्घाटन

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, २० माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुरको रौतामाई गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको समुद्घाटन गर्नुभएको छ । उदयपुरको रौतामाई गाउँपालिकास्थित भुट्टारमा आज आयोजित समारोहमा उहाँले प्रशासकीय भवन समुद्घाटन गर्नुभएको हो । उक्त भवन सात करोड ५० लाखको लागतमा निर्माण गरिएको हो ।

सो अवसरमा प्रधानमन्त्रीले रौतामाई गाउँपालिकाका मागलाई सरकारले सम्बोधन गर्ने बताउनुभयो । स्थानीयतहलाई संविधानले धेरै अधिकार प्रदान गरेको उल्लेख गर्दै जनतालाई सुलभ सेवा प्रवाह गर्नु पर्ने उहाँको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको जनताले अनुभुत हुनेगरी सेवा प्रवाह गर्नुपर्नेमा जोडसमेत दिनुभएको छ । बजेट बनाउने समयमा रौतामाई गाउँपालिकालाई सम्झने उहाँले बताउनुभयो ।

शान्ति प्रक्रिया सबै राजनीतिक दलको सहमति मै टुङ्गोमा पुग्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले सबैको सहयोगमा देशको विकास अगाडि बढ्ने उल्लेख गर्नुभएको छ ।

मुलुकको अर्थतन्त्र सही बाटोमा अगाडि बढेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले पछिल्ला समय अर्थतन्त्रका सबै सूचक सही अवस्थामा फर्किएको स्पष्ट पार्नुभएको छ ।

“अर्थतन्त्रका सूचक धेरै उत्साहजनक रहेका छन्, विदेशी मुद्राको सञ्चिती तथा पर्यटकको आगमन बृद्धि भएको छ”, उहाँले भन्नुभयो, “यसले अर्थतन्त्रलाई सही बाटोमा ल्याउन मद्धत गरेको छ, पछिल्लो समय राजस्व पनि वृद्धि भएको छ ।”

प्रधानमन्त्री प्रचण्डले सो अवसरमा कान्छा ज्वाइँ जीवन आचार्य र छोरी गंगा दाहाललाई पनि सँगै लग्नुभएको थियो ।