
काठमाडौं, १९ माघ । सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतक तथा सचेतकबिच प्रतिनिधि सभाको आगामी हिउँदे अधिवेशनमा धेरैभन्दा धेरै विधेयक पारित गरेर कानुनहरु बनाउनेबारे छलफल भएको छ ।
सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा माघ २२ गतेदेखि सुरु हुने संसदको सहउँदे अधिवेशनलाई प्रभावकारी बनाउने सम्बन्धमा सहमति भएको हो ।
सदनलाई व्यवस्थित र प्रभावकारी बनाउन क्यालेन्डरअनुसार चलाउने तयारीका बारेमा छलफल भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बताउनुभयो ।
‘छलफलमा अगामि सोमबारदेखि सुरुहुने संसदको हिउँदे अधिवेशनलाई प्रधावकारी बनाउने र बढिभन्दा बढी विधेयकहरुमाथि छलफल गर्ने बारे छलफल भएको छ ।’ छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै शाहीले भन्नुभयो, ‘त्यस्तै संसदको क्यालेण्डरलाई अझ प्रभावकारी रुपमा निर्माण गर्नेबारेमा पनि छलफल भएको छ ।’
संसद र समितिका बैठकहरु नियमित हुने हुँदा सांसदहरुले गृह जिल्ला जान नपाएको भन्दै शाहीले यो विषय पनि क्यालेण्डरमा राख्ने विषयमा छलफल भएको बताउनुभयो ।
त्यस्तै, एमालेका प्रमुख सचेतक पदम गिरीले संसदमा विद्युतीय हाजिरी सुरु गर्ने विषयमा ध्यानाकर्षण गराएको जानकारी दिनुभयो ।
सुरु हुन लागेको संसदको हिउँदे अधिवेशनको पहिलो दिनबाटै विद्युतीय हाजिरी सुरु हुने उहाँको भनाइ थियो ।
त्यस्तै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक हिउँदे अधिवेश्नमा बढी भन्दा बढी कानून बनाउने विषयमा गम्भिर छलफल भएको बताउनुभयो । संसद्को हिउँदे अधिवेशन यही माघ २२ गते सोमबारदेखि सुरु हुँदैछ ।








प्रतिक्रिया