३० असार २०८३, मंगलबार

बीपी प्रतिष्ठानका कामु उपकुलपतिको नियुक्ति बदर माग गर्दै रिट

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १७ माघ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम उपकुलपति प्रा. डा. प्रल्हाद कार्कीको नियुक्ति बदर गर्न माग गर्दै उच्च अदालत विराटनगरमा रिट निवेदन दायर भएको छ ।

उहाँको नियुक्ति गैरकानुनी भएको दाबी गर्दै मंगलबार रिट दायर भएको हो । धरानका सुमन श्रेष्ठले दायर गरेको उक्त रिटको पेसी माघ १९ गतेका लागि तोकिएको अदालतले जनाएको छ ।

प्रतिष्ठानबाट अवकास पाइसकेपछि कार्कीलाई कायम मुकायम उपकुलपति नियुक्त गरिएको भन्दै प्रतिष्ठानका कर्मचारी र डाक्टरहरुले पनि नियुक्ति खारेजीको माग गर्दै आएका छन् ।

रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश ममता खनालको इजलासले अन्तरिम आदेशको सम्बन्धमा छलफलका लागि दुबै पक्षलाई माघ १९ गते बोलाएको रिट निवेदक श्रेष्ठले बताउनुभयो ।

प्रतिष्ठानका कुलपति, सहकुलपति तथा कायम मुकायम उपकुलपति प्रा. डा. कार्कीसमेतलाई विपक्षी बनाई दायर गरिएको रिटमा ‘कायम मुकायम उपकुलपतिको २०८० असार १७ को नियुक्ति र त्यसै नियुक्तिलाई निरन्तरता दिने २०८० मंसिर ४ को नियुक्तिलाई उत्प्रेषणलगायत आज्ञा आदेश जारी गरी बदर गरीपाउँ’ भनी माग गरिएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन–२०४९ को दफा ११ (ख) ले उपकुलपतिको नियुक्तिको व्उवस्था भएपनि कामुको व्यवस्था नभएको रिटमा दावी गरिएको छ । प्रतिष्ठानको ऐन र नियमावली अनुसार उपकुलपतिको नियुक्ति सम्बन्धि सम्पूर्ण अधिकार कुलपतिमा निहित रहेकोमा सहकुलपति रहेका स्वास्थयमन्त्रीले गरेको नियुक्ति अवैध रहेको दावी रिटमा छ ।

प्रा.डा. कार्कीले २०८० मंसिर ५ मा उमेर हदअनुसार अनिवार्य अवकाश पाइसक्नु भएको छ ।