
काठमाडौं, १७ माघ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र विस्तारै सुधार भइरहेको भएपनि आन्तरिक व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउनु भएको छ ।
बुधबार निर्यात व्यवसायी महासंघ नेपालको स्थापना दिवस तथा चौथो वार्षिक साधारण सभा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले यस्तो बताउनु भएको हो । त्यस क्रममा उहाँले आन्तरिक उत्पादनलाई निर्यात गर्नआवश्यक गृहकार्य नपुगेको स्वीकार गर्नुभयो ।
‘आर्थिक अवस्थाले विस्तारै गति लिइरहेको छ । तर हाम्रो आन्तरिक व्यववस्थापन अझै चुनौतीपूर्ण छ’ अर्थमन्त्री महतले भन्नुभयो, ‘निर्यात नहुने, आयात गरेर परिपूर्ति गर्ने प्रचलन बढ्यो ।’
मन्त्री महतले आन्तरिक उत्पादनलाई बढाउने उपाय के हो भन्दै ? व्यवसायीलाई प्रश्न समेत गर्नुभएको थियो । आन्तरिक उत्पादन बढाउन र लगानी सुरक्षित गर्न दुई उपाय रहेको भन्दै सहुलियत कर्जा र अनुदान दिन सकिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘आन्तरिक उत्पादन बढाउन एउटा सहुलियत ब्याजदरमा ऋण, अनुदान दिने, अर्को वैदेशिक आयात घटाउने ।’
अनुत्पादक क्षेत्रमा धेरै लगानी गरेका कारण अर्थतन्त्र जोखिममा परेको उहाँले स्पष्ट पार्नुभयो । ‘अर्थतन्त्रमा मुख्य समस्या आउनुको अर्को मुख्य कारण के हो भने हामीले अनुत्पादन क्षेत्रमा अझ बढी लगानी गर्यौं’ उहाँले भन्नुभयो ।
अर्थतन्त्रलाई जति सुधार गर्न सकिन्थ्यो त्यति गर्न नसकिएको भन्दै उहाँले अझै पनि स्रोतको कमी भएको साथै खासगरी बजेटको अभावले गर्दा पनि लगानी सुनिश्चित गर्न नसकिरहेको अर्थमन्त्री महतले बताउनुभयो ।








प्रतिक्रिया