३ असार २०८३, बुधबार

डीपीआर आतङ्कबाट मुलुकलाई बाहिर निकाल्न आवश्यक : रवि लामिछाने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ‘डीपीआर आतङ्क’बाट मुलुकलाई बाहिर निकाल्न आवश्यक रहेको बताउनु भएको छ । बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भएको अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफलमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

राष्ट्रिय गौरवको आयोजनामासमेत कपि पेस्ट भएको भन्दै डीपीआर आतङ्कबाट बाहिर निस्केर साँच्चैको अनुगमन र निर्माणको काममा प्रवेश गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘समय र लागतमात्र नभएर गुणस्तर हेर्ने हामीले कहिले हो? डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) बनाउने भनेपछि त्यसमा त पैसा निस्कन्छ । यो डीपीआर आतङ्कबाट मुलुकलाई बाहिर निकाल्नपर्यो । कस्ताकस्ता राष्ट्रिय गौरवको आयोजनामा कपि पेस्ट भएको सुनेका छौं । डीपीआर आतङ्कबाटबाहिर निस्केर साच्चै अनुगमन र निर्माणको काममा कहिले प्रवेश गछौं ?’

अनुगमन गर्ने प्रभावकारिता, त्यसमा प्राविधिक पक्ष र त्यसले औँल्याएका विषयहरुमा दण्ड र पुरस्कृत गर्न सक्ने व्यवस्था गर्नुपर्ने उहाँको भनाई छ । सभापति लामिछानेले अनुगमनकर्ताको मापदण्ड केके हो र देखिएको त्रुटि सच्याउने उपाय के हो त्यसको खोजी गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अनुगमन गर्ने, त्यसमा प्राविधिक पक्ष र त्यसले औँल्याएका विषयहरुमा दण्ड र पुरस्कृत गर्न सक्ने व्यवस्था गर्न सक्ने क्षमता हुने छ कि छैन, यो महत्वपूर्ण कुरा हो । अनुरोध गर्न चाहन्छु, अनुगमन कसले गर्ने, अनुगमनकर्ताको मापदण्ड केके हो ? देखिएको त्रुटि सच्याउने उपाय के हो : यो महत्वपूर्ण छ ।’