
काठमाडौं, १६ माघ । राँगाभैँसीलाई ट्रकमा हालेर ढुवानी गरिने दृश्य तपाईँ हामीले प्रायजसो सडकमा वारपार गर्दा देखिरहने एउटा दृश्य हो । न्यूनतम मापदण्ड पालना नगरी पशुहरुलाई पीडा दिएर पुच्छर र नाकमा बाँधेर ढुवानी गरिन्छ जुन गैरकानूनी पनि हो ।
पशु सेवा ऐन २०५५ तथा सोको नियमावली २०५६, पशु ढुवानी मापदण्ड २०६४ अनुसार पशु ढुवानी गर्दा नाकमा र पुच्छरमा बाँध्न हुँदैन । एनिमल नेपालकी कार्यक्रम प्रमुख शुलक्षणा राणाले पशु ढुवानीमा कानुन कार्यान्वयन नभएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
राणाले भन्नुभयो, ‘कानूनको सहज तरिकाले कार्यान्वयन गर्नेबारे सम्बन्धित निकायलाई सचेत गराउन सबै मिलेर लाग्नुपर्छ ।’ विभिन्न होटल तथा रेष्टुरेन्टमा पाक्ने मासुको परिकार स्वस्थ छ भनेर विश्वास गर्ने आधार छैन । पोल्ट्री फार्म वा पशुपालनको क्षेत्रमा अत्यधिक मात्रामा एन्टिबायोटिक्सको प्रयोग हुने गरेको पशु कल्याण सरोकारवालाहरू बताउनुहुन्छ । मानिसले सेवन गर्ने मासुबाट विभिन्न रोग तथा भाइरसहरु सर्ने गरेको सरोकारवालाहरूको भनाइ छ । ‘मानिस, पशु र वातावरण एकअर्कासँग सम्बन्धित भएकाले सबैको कल्याणको लागि वन हेल्थ पोलिसि कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको छ,’ राणाले भन्नुभयो, ‘जनावरलाई पीडाहुँदा निस्कने टक्सिन मानिसले खान्छन्, त्यसले मानिसको स्वास्थ्यमा गम्भीर असर गर्छ ।’
संस्थाका सुपरभाइजर रामचन्द्र आचार्यले जरिवाना थोरै भएकाले कानूनको पालना नभएकोमा दु:ख व्यक्त गर्नुभयो । ऐन अनुसार शारीरिक बनोट फरक भएका पशुको ढुवानी एउटै गाडीमा गर्न नहुने र राँगाभैैँसीसँग पाडापाडी मिसाउन नहुने उल्लेख छ । ‘जरिवाना थोरै भएकाले कानुन पालना भएकै छैन, व्यापारीले कल्याणको हिसाबले हेरैकै छैनन्,’ आचार्यले भन्नुभयो ।
कानुन अनुसार पशु ढुवानी गर्ने गाडिको प्राथमिक उपचार बाकसमा कपास, टिक्चर बेन्जवाइन, ब्यान्डेज, हिमेक्स चार्मिल मलम, बेडामिन, सिजर, टिक्चर आयोडिन, ड्रेसिङ फोरसेफ र पोटासियम परम्याग्नेट अनिवार्य गरिएको छ । कानुन फितलो र सरकारनै कार्यान्वयनमा उदासिन भएपछि निर्दोष पशुले असह्य पीडा खेप्न बाध्य छन् ।
दैनिक ८ घण्टा भन्दा बढी गाडीमा ढुवानी गराउन नहुने, गाडीमा घाँस पराल र दाना राख्नुपर्ने, ८ घण्टापछि पशुलाई ओरालेर दानापानी खुवाउनुपर्ने पशु सेवा ऐनमा उल्लेख गरिएको छ । ‘आजभोली देखाउनलाई एकमुठा पराल ल्याउन थालेका छन् । भर्खर खुवाएर ल्याएको यत्ति बाँकी हो भन्छन्,’ आचार्यले भन्नुभयो, स्थानीय तहले आधिकारिकरुपमा नै रेकर्ड राख्ने व्यवस्था भएमा पशु कल्याण सुनिश्चितता हुन्थ्यो ।’
गाडी ४० किमी प्रतिघण्टाको रफ्तारमा वा सो भन्दा विस्तारै हाँक्ने र झ्याप्प ब्रेक नलगाउने र नउफ्रिने गरि आरामसँग ढुनावी गर्नुपर्ने कानुनी व्यवस्था छ । बढिमा २३ वटा पशु अट्ने ट्रकमा कोचेर ३१ वटासम्म पशु ढुवानी भइरहेको आचार्यको भनाइ छ । निरोगी र स्वस्थ पशुको यकिन गरी ढुवानी अनुमति दिन भरतपुर महानगरपालिका–१ रामनगरमा पशु क्वारेन्टाइन स्थापना गरिएको छ । पशु क्वारेन्टाइनमा पशुलाई गाडीबाट ओरालेर आराम गराउनुको साथै घाँस, पराल, दाना तथा पानी खुवाउनुपर्छ । तर यहाँको क्वारेन्टाइनमा पर्याप्त ठाउँ नहुँदा त्यसो हुन सकेको छैन ।
एनिमल नेपालको स्थापना पशु कल्याण र हक हितका निम्ति भएको हो । भोक, प्यास र कुपोषण हुन नदिने, आरामदायी ढङ्गले जिउन पाउने, पशुलाई रोग लाग्नबाट बचाउने, आफ्नो सामान्य व्यवहार प्रस्तुत गर्न पाउनुको साथै डर, त्रास र तनावबाट मुक्त रहन पाउने पशु स्वतन्त्रताका पक्षमा यो संस्थाले निरन्तर काम गर्दै आइरहेको छ ।















प्रतिक्रिया