
काठमाडौं, १५ माघ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल सोमबार सिंहदरबारमा प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा छलफलका क्रममा जंगिनु भएको छ ।
खाद्य स्वच्छता विधेयकको संशोधनकर्ताहरुसँग भएको छलफलमा उहाँले सरकारले औषधिको अनुगमनमा ध्यान नदिएर कालाबजारीलाई प्रश्रय दिएको आरोप लगाए । ‘नेपालको औषधिहरु गुणस्तरीय नहुँदा डाक्टरलाई सोध्यो भने नेपालको नखाएर विदेशी खानु भन्नुहुन्छ । त्यस्तो उत्पादन गर्न मिल्छ काम नै नलाग्ने ? कम्पनी कुन हो खोइ अनुगमन ?गरिबलाई मार्ने काम सरकारले गर्नुभएन । धनि मात्र बाँच्ने भए अमेरिका गएकै छन् नि,’ उहाँले भन्नुभयो ।
बोल्दाबोल्दै उहाँको भनाइमा व्याख्या लामो भएको भन्दै समिति सभापति आरजु राणा देउवाले छोट्याउन भनेपछि सुवाल जंगिनुभयो । खाद्य स्वच्छता विधेयकको संशोधन गर्नैपर्ने भएकाले संशोधनकर्ताले आआफ्नो भनाइ राख्नेपर्ने उहाँले जिकिर गर्नुभयो । सुवालले अरुलाई केही नभन्ने तर आफ्नो पालोमा छोट्याउन भन्नु उपयुक्त नभएको तर्क गर्नुभयो ।
‘तपाईहरुलाई घोचेको मन पर्दैन सबै थाहा छ हामीलाई । तपाईहरुलाई त सिंहदरबार कब्जा गर्न पाए पुग्छ नि । गरिब जनताको किन सुन्नुपर्छ ? प्रजातान्त्रिक समाजवाद नि थाहा छ, नाटक नै नाटक त हो । बीपि कोइरालालाई तपाईहरुले प्रतिष्ठानमा नै बेच्नुभयो नि,’ उहाँले कटाक्ष गर्नुभयो ।
उहाँले ‘म बोल्दिन’ भनेर उठेपछि केही सदस्यले सम्झाउनु भएको थियो । सांसद सुवालले ६ महिनायता मुलुकमा ४ अर्ब रुपैयाँको तरकारी आयात भएको बताउनुभयो । ‘विषादी भएको तरकारी सरकारले जाँच गर्नु पर्दैन ? विषादी भएको तरकारी खुवाउन मिल्छ ?,’ उहाँले प्रश्न गर्नुभयो ‘यही हो खाद्य स्वच्छता ? मन्त्रीज्युको ध्यानाकर्षण गराउन चाहन्छु ।’








प्रतिक्रिया