
काठमाडौं, १२ माघ । काठमाडौं महानगर प्रहरीको ज्यादतीविरुद्ध संयुक्त स्वरोजगार सडक व्यापार व्यवसायी संघर्ष समितिले आन्दोलनको घोषणा गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका हुन् ।
तीन दिनसम्म लगातार दुई घण्टा महानगरपालिकाको कार्यालयमा धर्ना कार्यक्रम गर्दा समेत समितिका मागलाई महानगरले सुनुवाई नगरेको भन्दै सम्बन्धित निकायलाई ध्यानाकर्षण स्वरुप थप आन्दोलन गर्न लागेको नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक संगठनका अध्यक्ष कुमार सापकोटाले बताउनुभयो ।
उहाँले काठमाडौं महानगरपालिका र अभियन्ता ई.तथा सडक व्यावसायीहरुको प्रतिनिधिहरुबीच जफत गरेको सामान सम्बन्धित व्यक्तिलाई फिर्ता गर्ने सहमति सम्झौता भए पनि महानगरपालिकाले सुन्धारा, रत्नपार्कलगायतका क्षेत्रहरुबाट लाखौ मूल्य बराबरको सामान जफत गर्ने कार्यले दुई पक्षबीच भएको सम्झौताको ठाडो उल्लंघन भएको पनि बताउनु भयो ।
नेपालको संविधानको धारा १७ मा उल्लेखित स्वतन्त्रताको हकअन्तर्गत, ‘नेपालको कुनै पनि भागमा पेशा, रोजगार गर्ने र उद्योग व्यापार तथा व्यवसायको स्थापना र संचालन गर्ने स्वतन्त्रता’ हरेक नागरिकको मौलिक हकको रुपमा स्थापित गरिएकाले रोजगारीको हक र स्वतन्त्रपूर्वक बाँच्नपाउने हकको समेत उलंघन गर्दै राज्यशक्तिको दुरुपयोग गरेको पनि उहाँहरुको भनाई छ ।
समितिले जफत गरिएका सामानहरु फिर्ता, स्वरोजगार श्रमिकहरुको लागि उचित बैकल्पिक कार्यस्थलको सुनिश्चित गर्नुपर्ने, समय निर्धारण गर्नुपर्ने, स्वरोजगार सड़क व्यवसायीहरुलाई पञ्जिकरणको व्यवस्था गर्नुपर्ने, उच्चस्तरीय व्यवस्थापन कार्यदल, महानगर प्रहरीको धरपकड अबिलम्ब बन्द गरिनुपर्ने र स्वरोजगार सडक व्यवसायीहरुलाई करको दायरामा समावेश गरिनुपर्ने जस्ता मागहरु राख्नु भएको छ ।
आन्दोलनका कार्यक्रम अन्तर्गत माघ १५ गते काठमाडौं महानगरपालिकालाई ज्ञापन पत्र बुझाउने, १६ गते व्यापक जनप्रदर्शनसहित महानगरपालिका कार्यालयमा धर्ना तथा घेराउ गर्ने र सम्बन्धीत निकाय साथै ठूला राजनीतिक दलहरुलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम छ ।









प्रतिक्रिया