२३ असार २०८३, मंगलबार

प्रेमप्रसाद आत्मदाहको बर्ष दिन : मन्त्रीले नै बाचा पूरा गरेनन्

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ माघ । २५ बुँदे मागसहितको ‘मृत्यु पत्र’ सामाजिक सञ्जाल फेसबुकमा राखेर संघीय संसद भवनअघि आत्मदाह गर्नुभएका युवा उद्यमी प्रेमप्रसाद आचार्यको आत्मदाहपछि बनेको छानविन समितिको प्रतिवेदन एक बर्ष बितिसक्दा पनि सार्वजनिक भएको छैन् ।

गतबर्ष माघ ११ गते आत्मदाह गर्नुभएका आचार्यले उठाउनु भएका मागहरु पूरा गर्न सरकारले चासो पनि नदेखाएको र आत्मदाहपछि बनेको छानविन समितिले प्रतिवेदन पनि सार्वजनिक नगरेको आचार्यका आफन्तहरुले दु:खेसो गर्नुभएको छ ।

आचार्यकी श्रीमती नानुका अधिकारी सरकारले परिवारलाई समेत छानविन समितिको प्रतिवेदन उपलव्ध नगराएको बताउनुहुन्छ । अधिकारीले भन्नुभयो, ‘शुरुमा सम्बेदनशिल जस्तो देखिएको सरकाले एक बर्षमा एउटा मागपनि सम्बोधन गरेन ।’ सरकारले उहाँको मागलाई वास्तै नगरेको उहाँको आरोप छ । उहाँले प्रेमप्रसादले उठाएका माग सम्बोधन गर्न सरकारलाई घच्घच्याउन सरोकारवाला सबैलाई आग्रह गर्नुभयो। ‘मैंले जुन दु:ख अहिले भोग्नुपरेको छ, त्यो अरु व्यवसायीले भोग्नु नपरोस् भनेर (प्रेम प्रसाद) जानु भएको छ । हामीले सरकारलाई मागपत्रबुझाएकाथियौं, सरकारले २१ दिनको समय मागेको थियो । तर, एक बर्षमा पनि केही गरेन,’ उहाँले भन्नुभयो ।

उहाँले आचार्यको निधनपछि परिवार चलाउन समेत समस्या परिरहेका बताउनुभयो । उहाँले भन्नुभयो, ‘जिन्दगी चलाउनैपर्ने रहेछ, त्यति वेला सहयोग गर्छु भन्नेले अहिलेसम्म केही गरेनन् ।’ नानीहरुको पढाइखर्च जुटाइदिन्छु भन्नेले पनि त्यो व्यवस्था नगरेको उहाँले गुनासो गर्नुभयो । वर्तमान सरकारका स्वास्थ्यमन्त्री मोहन बस्नेतले दुवै छोरीको पढाइको व्यवस्था गर्ने अधिकारीलाई जागिर दिने घोषणा गरेर चर्चा बटुल्नु भएको थियो । अधिकारीले भन्नुभयो,‘त्यो सबै भाषण मात्रै रहेछ, नानी पढाईदिन्छु भन्नुभएको थियो तर अहिलेसम्म वास्ता गर्नुभएन ।’ अधिकारी अरनिको यातायात प्रालीमा काम गर्नुहुन्छ तर अहिलेसम्म पारिश्रमिक नतोकेको उहाँले गुनासो गर्नुभयो ।

राष्ट्रिय कृषक समूह महासंघका सस्थापक अध्यक्ष तथा खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले राज्यलाई किसान र व्यवसायीको कुरा सुनाउन प्राण आहुती नै दिनुपर्ने र त्यति हुँदा पनि कुरा सुन्ने अवस्था नरहनु दुर्भाग्यपूर्ण रहेको धारणा राख्नुभयो । दुई दशकदेखि कृषकको पक्षमा आवाज उठाई रहनुभएका अभियन्ता अधिकारीले भन्नुभयो,‘नेपालमा कृषि, उद्योग, यर्पटन र युवाहरुको सम्भावना देखाएपनि सकारको चासो भने शून्य प्राय छ ।’ उहाँले स्वर्गीय आचार्यले उठाउनु भएका सवालमा लामो वहस हुनु जरुरी रहेका बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रेम प्रसादले गर्नु भएको पैरवीलाई निरन्तर उठाउनु जरुरी छ ।’

इलामको सूर्योदय नगर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राईले स्वर्गीय राईका माग एक बर्षमा पनि सरकारले नसुन्नु दुर्भाग्यपूर्ण भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘आचार्यले उठाएका सवाल उद्यमी, व्यवसायीका आम सवालहरु हुन्, राज्यले तत्काल सम्बोधनकालागि काम शुरु गर्नु जरुरी छ ।’ आचार्यले राष्ट्रिय उत्पादनमा भ्याट शून्य गर्नुपर्ने, अनुदान प्रणाली सहज गर्नुपर्ने लगायतका २५ बुंदे माग अघि सार्नुभएको थियो ।
तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि गृहमन्त्रालयका सहसचिव नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको थियो । आचार्यले कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । उहाँले माघ १० गते आत्मदाहको प्रयास गर्नुभएको थियो । त्यसक्रममा प्रहरीले उद्धार गरेर अस्पताल पुर्‍याएको थियो । उहाँको मृत्युपछि काठमाडौमा सरकारलाई खबरदारी गर्दै प्रदर्शन समेत भएको थियो ।

फेसबुकमा ‘मृत्यु पत्र’ लेख्दै आचार्यले स्थापित व्यापारीको नामै किटेर आफ्नो असफलताको हिस्सेदार बनेको आरोप लगाउनु भएको थियो । उधारोमा सामान लगेर रकम नदिएका ठूला व्यापारीहरुको नाम नै किट्नु भएका थिए । उपेन्द्र महतोको लगानीमा सञ्चालित नेपाल ग्रामोध्योग कम्पनीले जालसाजी गरेको, मीनबहादुर गुरुङको स्वामित्वमा रहेको भाटभटेनी डिपार्टमेन्टल स्टोर, व्यापारिक घराना विशाल ग्रुपकोे समेत लगानी रहेको बिग मार्टले सामानको पैसा नदिएको आचार्यले आरोप लगाउनु भएको थियो ।

त्यस्तै, व्यापारी पवन गोल्यानको गोल्यान एग्रोले अर्डर गरेर सामान पुर्‍याएपछि फिर्ता पठाएर ठगी गरेको पनि आचार्यले लेख्नुभएको थियो ।
अनिल बस्नेतको मेरो तरकारी डटकम नामक अनलाइन बजारले पनि सामानको पैसा नदिएको आरोप लगाएका आचार्यले बहुराष्ट्रिय कम्पनी डाबर नेपालले पनि सामानको पैसा नदिएको बताउनु भएको थियो ।

चौतर्फी घेराबन्दीमा परेर आफूले आत्महत्याको बाटो रोजेको उहाँको भनाइ थियो । आचार्यलाई आत्महत्या गर्न बाध्य पारिएका व्यक्तिहरुकाविरुद्ध आत्महत्या दुरुत्साहनबारे किटानी जाहेरी समेत परेको थियो । जाहेरी परेकाहरुसँग प्रहरीले सोधपुछ गरिसकेको छ । तर छानविन समितिले प्रतिवेदन भने सार्वजनिक गरेको छैन ।