
काठमाडौं, ११ माघ । आजबाट स्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा सुरु भएको छ । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिनदेखि माघ शुक्ल पूर्णिमासम्म अर्थात् एक महिनासम्म हरेक दिन घर–घरमा स्वस्थानीको कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानीको व्रत बसेर कथा श्रवण गरेर मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ ।
आज पहिलो दिन हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर स्वस्थानीको व्रत बस्ने चलन छ । बिहान माघ स्नान गरी नित्यकर्म गर्ने, मध्याह्नकालमा महादेवको पूजा गर्ने र बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।
काठमाडौंको शालीनदीमा आजैबाट स्वस्थानीको मेला सुरु भएको छ । साँखुको शालीनदीमा स्वस्थानीमा विशेष मेला लागेका छ । माघ महिनामा शालीनदीमा स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिने र पुण्य प्राप्त हुने मान्यता छ । जसकारण शालीनदीमा भक्तजनको भीड लागेको छ ।
माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठका अनुसार आजदेखि शालीनदीमा स्वस्थानी मेला सुरु भएको छ । ‘हिँड्न नसक्ने अवस्थाका व्रतालुहरुका लागि आवश्यक सहयोग लिइ गन्तव्यसम्म पु¥याउने व्यवस्था छ,’ उहाँले भन्नुभयो, ‘भक्तजनको लागि बसको व्यवस्था गरेका छांै । सुरक्षाको प्रबन्ध गर्न प्रशासनलाई भनेका छौँ ।’
माधवनारायण व्रत र शालिनदी मेला नेपालको राष्ट्रिय महत्व र गौरवको विषय भइसकेको हुँदा यहाँ वर्षेनि घुइँचो लाग्ने गरेको उहाँले बताउनुभयो । ‘भक्तजनहरुको आस्था, विश्वासका कारण वर्षेनि आगमन बढ्दो क्रममा छ,’ उहाँले भन्नुभयो, ‘यो वर्षको मेलामा २२ देखि २५ लाखसम्म धार्मिक पर्यटकहरुको आगमन हुने अनुमान गरेका छौं ।’
यसवर्ष व्रतका लागि १९८ जनाको नाम रहेको उहाँले बताउनुभयो । त्यसमा १७ जना पुरुष र महिला १८१ जना छन् ।









प्रतिक्रिया