
दोलखा, ११ माघ । कालिञ्चोकमा यो वर्ष दोस्रो पटक हिमपात भएको छ । बुधबार राति झन्डै तीन घण्टा हिमपात भएको स्थानीय सुनपाती होटेलका स्टाफ राजन क्षेत्रीले बताउनुभयो । बुधबार राति ८ बजेबाट १० बजेसम्म लगातार हिमपात भएको क्षेत्रीले बताउनुभयो ।
रातभरिको हिमपात पछि बिहीबार (आज) कालिञ्चोक टाँपु तथा कुरीको वातावरण निक्कै रमणीय देखिएको पर्यटकहरूले बताएका छन् । हिमपात पछि बिहीबार बिहानै देखि कालिञ्चोक पुग्ने पर्यटकको चाँप बढेको कुरी स्थित होटेल सुनपातीका सञ्चालक एवं पर्यटन व्यवसायी हरि ओलीले बताउनुभयो ।
बुधबार रातभरी हिमपात भएपछि बिहीबार बिहानै देखी कालिञ्चोक जानको लागि पर्यटकहरूको फोन आइरहेको छ– होटेल सञ्चालक ओलीले भन्नुभयो । शुक्रबार र शनिबार त्यसैपनि कालिञ्चोक पुग्ने पर्यटक अत्यधिक हुनेमा हिमपात पछि यो सङ्ख्या थेगिनसक्नु हुने अनुमान होटेल व्यवसायीहरूको छ ।
तीन हजार आठ सय ४२ मिटर उँचाइमा रहेको कालिञ्चोकमा गत वर्ष फागुनको दोस्रो साताबाटमात्र हिमपात भएकोमा यो वर्ष पहिलो पटक माघ २ गते नै हिमपात भएको थियो ।
बुधबार राति अत्यधिक हिमपात भएको कारण कालिञ्चोकको कुरीसम्म गाडी पुग्न भने कठिन भएको स्थानीयले बताएका छन् । पर्यटकहरूको लागि धेरै बोलेरो गाडीहरूले टाएरमा चेन राखेर कुरीसम्म पुर्याउने व्यवस्था गरेको होटेल सञ्चालक ओलीले बताउनुभयो । कुरीबाट केबलकार चढेर कालिञ्चोक टापुसम्म पुग्न सकिने भएकोले समस्या नहुने स्थानीय होटेल व्यवसायीहरू बताउँछन् ।
कुरी बजार तथा आसपास अत्यधिक हिउँ रहेकोले बिहीबार (आज) बिहानै देखी पर्यटकहरू हिउँ खेलेर रमाइलो गरिरहेको राजन क्षेत्रीले बताउनुभयो ।








प्रतिक्रिया