१६ असार २०८३, मंगलबार

मधेश प्रदेश : राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, १० माघ । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८० अन्तर्गत मधेश प्रदेशमा बिहीबार हुने निर्वाचनको तयारी पूरा भएको छ ।

मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने महिला र अन्य समूह (खुला) गरी दुई पदका लागि निर्वाचन हुने प्रदेश निर्वाचन कार्यालय जनकपुरधामका निमित्त प्रमुख नवीन चौधरीले जानकारी दिनुभयो ।

महेन्द्र नारायण निधि संस्कृति केन्द्र जनकपुरधाममा हुने निर्वाचनमा प्रदेश सभा सदस्य र पालिका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षका लागि छुट्टाछुट्टै दुई मतदान केन्द्र कायम गरिएका छन् ।

प्रदेश सभा सदस्यका लागि हरियो र पालिका प्रमुख तथा उपप्रमुखका लागि रातो रङको मतपत्रको व्यवस्था गरिएको छ ।

मतदान बिहान ७ देखि अपराह्न ३ बजेसम्म हुनेछ । मतगणना महेन्द्र नारायण निधि संस्कृति केन्द्रमै गरिने प्रमुख चौधरीले बताउनुभयो ।

मधेशमा दुई सदस्यका लागि पाँच जनाले उम्मेदवारी दिएका छन् । अन्य समूहतर्फ नेपाली कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना (धनुषा), नेकपा (एमाले)का कुमारी विजेता झा (धनुषा) र जनमत पार्टीका रामशङ्कर महासेठ (धनुषा)ले उम्मेदारी दिनुभएको छ । महिलातर्फ एमालेबाट उषादेवी थरुनी (पर्सा) र जनता समाजवादी पार्टी (जसपा) बाट पूजा चौधरी (रौतहट) को उम्मेदवारी परेको छ ।

मधेश प्रदेश सभा सदस्य एक सय सात र स्थानीय तहका प्रमुख/उपप्रमुख दुई सय ६७ गरी तीन सय ७४ मतदाता रहेका छन् । प्रदेशमा एक सय ३६ स्थानीय तह छन् । स्थानीय तहका पाँच पदाधिकारी भने निलम्वनमा परेका छन् ।

प्रदेश सभा सदस्यको मतभार ५३ का आधारमा यहाँ पाँच हजार छ सय ७१ र स्थानीय तहका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षको मतभार १९ का आधारमा पाँच हजार ७३ गरी कूल मतभार १० हजार सात सय ४४ रहेको छ ।