१२ असार २०८३, शुक्रबार

देश बनाउने जिम्मा हामी सबैको : प्रधानमन्त्री

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश बनाउने जिम्मा सरकार, सबै राजनीतिक दलका साथै विभिन्न तह र तप्काका जनसमुदायको भएको बताउनु भएको छ । उहाँले अहिले देशको राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक र शैक्षिक क्षेत्रमा रुपान्तरणको खाँचो औल्याउँदै यसका लागि राज्यका साथै सबैले जिम्मेवारी लिनुपर्ने बताउनुभयो ।

बुधबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा डा. केदारभक्त माथेमा, डा. पिताम्वर शर्मा, डा. विद्यानाथ कोइराला, डा. चैतन्य मिश्र, प्रा. कृष्ण खनालसहितका प्रबुद्ध व्यक्तित्वसँगको छलफलमा प्रधानमन्त्रीले यस्तो बताउनु भएको हो ।

देश बनाउन सबभन्दा ‘बेष्ट ब्रेन’ हरु केन्द्रित गर्नुपर्छ भन्ने आफ्नो विगतदेखिकै सोच रहँदै आएको बताउँदै उहाँले अहिले विश्व विद्यालयलाई राजनीतिक भागबण्डा बनाउनु हुँदैन भनेर विगतको परम्परामा ब्रेक थ्रु गर्न लागिएकाले यसमा बौद्धिक समुदायको साथ र सहयोगको अपेक्षा गरेको धारणा राख्नुभयो ।

उहाँले आफू प्रधानमन्त्री भएदेखि नै भोलिको उज्यालो र सम्मुन्नत नेपालका लागि सुशासन, सामाजिक न्याय र सम्बृद्धिका पक्षमा अनवरत काम गरिरहेको बताउँदै आम जनतालाई देशमै भविष्य छ भनेर भरोसा दिनुपर्ने दायित्व राज्यको भएकाले यसमा बौद्धिक समुदायको पनि महत्वपूर्ण भूमिका रहने औँल्याउनुभयो ।

छलफलमा सहभागी बौद्धिक व्यक्तित्वहरुले प्रधानमन्त्रीले हालै विश्वविद्यालयमा भागवण्डा नगर्ने र ‘मेरिटोक्रेसी’ बाट उपकूलपति छान्ने प्रक्रिया अघि बढाउनुले नयाँ आशा पलाएको भन्दै समग्र शिक्षा क्षेत्रसहित विश्व विद्यालयहरुको पुर्नसंरचना गर्नेगरी सुधार थाल्न आग्रह गर्नु भएको थियो ।