
काठमाडौं, १९ माघ । आफ्नो कमाइको एक/एक रूपैयाँ जोगाएर कान्तिपुर सहकारीमा बचत गरेका बचतकर्ताको अहिले रूवावासी चलेको छ । सरकारीका सञ्चालकले बचतकर्ताका अर्बौं रकम अपलचन गरेपछि अहिले बचतकर्ताहरू पैसा फिर्ता लिन संघर्षरत छन् ।
काठमाडौंको कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरूले तिनै बचतकर्ताको रगत पसिनाको रकम अपलचन गरी विभिन्न क्षेत्रमा लगानी गरेको खुलेको छ । सहकारीका सञ्चालकहरूले बचतकर्ता र शेयर सदस्यको साढे ६ अर्ब अपचलन गरी विभिन्न क्षेत्रमा लगानी गरेको खुलासा भएको हो । बचतकर्ताको पैसाबाट सञ्चालकहरूले घरजग्गा जोड्नेदेखि, निजी कम्पनी र रिसोर्टमा लगानी खोलेको पाइएको हो ।
सहकारीका पूर्वअध्यक्ष सीबी लामा तामाङ, वर्तमान अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरी, प्रबन्ध सञ्चालक प्रेमध्वज तामाङ, सञ्चालकहरू जोगलाल लामा, सानुकान्छा लामा, नारायणप्रसाद रिमाल, ईन्दु थापा र देवराज पराजुली लगायतले बचतकर्ताको पैसा घरजग्गा, क्रसर उद्योग, निजी अस्पतालदेखि कलेजमा लगानी गरेको खुलेको हो ।
सहकारीले ६ अर्ब २२ करोड ऋण लगानी गरेकामा ३० प्रतिशत मात्रै वास्तविक हो । २० प्रतिशत कर्मचारीको नाममा जग्गामा लगाइएको छ भने ५० प्रतिशत सञ्चालकहरूले घरजग्गा तथा निजी कम्पनीमा लगाएका हुन् ।
कतिपय सञ्चालकहरूले प्लटिङमा समेत पैसा लगाएका छन् । २०५३ सालमा खुलेको कान्तिपुर सहकारीमा २४ वर्षसम्म सीबी लामा अध्यक्ष हुनुहुन्थ्यो । उहाँले सञ्चालकहरूसँग मिलेर बचतकर्ताको ठूलो रकम घरजग्गा र आफूहरूले खोलेको निजी कम्पनीहरूमा लगाउनुभएको खुलेको छ ।
काभ्रेको धुलिखेल र पनौती, भक्तपुरको साँगा, काठमाडौंको फर्पिङ, बूढानीलकण्ठ, मकवानपुरको चित्लाङ, मोरङको कानेपोखरी, खोटाङको हलेसी लगायत स्थानमा ४०० रोपनीभन्दा बढी जग्गा किनिएको विवरण सहकारी विभागमा बुझाइएको छ ।

कान्तिपुर सहकारीका सञ्चालकहरूले बचतकर्ताको रकम कान्तिपुर अस्पतालमा पनि लगाएका छन् । तीनकुनेस्थित ४३ आना जग्गामा सञ्चालित कान्तिपुर अस्पताल प्रालिमा सीबी (लामा) तामाङ अध्यक्ष छन् भने हिमालय विक्रम मल्ल ठकुरी कार्यकारी निर्देशक । सहकारीका सञ्चालक प्रेमध्वज लामा र नारायण रिमाल पनि अस्पतालको सञ्चालक रहनु भएको छ । यो अस्पतालमा कान्तिपुर सहकारीकै नाममा १ करोड शेयर पूँजी राखेर लगानी गरिएको थियो ।
अस्पताल परिसरमै सीटीईभीटी, पूर्वाञ्चल विश्वविद्यालय लगायतको सम्बन्धनमा नर्सिङ, ब्याचलर इन फार्मेसी, पब्लिक हेल्थ लगायत सञ्चालन गरिरहेको कान्तिपुर कलेज अफ हेल्थ साइन्सेजमा सीबी लामा नै अध्यक्ष छन् ।

कान्तिपुर कलेज अफ हेल्थ साइन्सेज चलाउने समूहले नै तीनकुनेकै पेन्टागन कलेजमा पनि लगानी गरेको पाइएको छ । यसैगरी भक्तपुरको राधेराधे र काठमाडौंको बिजुलीबजारमा सञ्चालित रेस्टुरेन्ट ‘रोयल थाई हस्पिटालिटी’मा पनि कान्तिपुर सहकारीका सञ्चालक र कर्मचारीहरूको लगानी छ । सहकारीका सञ्चालक सहित १४ जनाको साझेदारीमा तीनकुनेको बागमती करिडोरमा ‘द मसरुम हेड लाउन्ज एण्ड बार’ खोलेको पाइएको छ ।
त्यस्तै, यही समूहले निजी लगानीमा नगरकोटमा स्तूपा रिसोर्ट पनि सञ्चालन गरिरहेको पाइएको छ । साथै, खोटाङको हलेसीमा रहेको जाम्बला रिसोर्टमा सहकारी संस्थाका पाँच सञ्चालकको लगानी छ ।
यसैगरी भक्तपुरको राधेराधे र काठमाडौंको बिजुलीबजारमा सञ्चालित रेस्टुरेन्ट ‘रोयल थाई हस्पिटालिटी’मा पनि कान्तिपुर सहकारीका सञ्चालक र कर्मचारीहरूको लगानी रहनुका सार्थ सहकारीका सञ्चालक सहित १४ जनाको साझेदारीमा तीनकुनेको बागमती करिडोरमा ‘द मसरुम हेड लाउन्ज एण्ड बार’ सञ्चालन गथरेका छन् ।
सहकारीले आफ्नो वेबसाइटमा नै कान्तिपुर अस्पताल तथा कलेज, द मसरुम हेड, स्तूपा रिसोर्ट, रोयल थाई रेष्टुराँ र जाम्बला रिसोर्ट आफ्ना साझेदार रहेको उल्लेख गरेको थियो । तर, अहिले संस्थाको वेबसाइट बन्द गरेर राखिएको छ ।









प्रतिक्रिया