
काठमाडौं, १० माघ । नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभाका सदस्य गगन थापाले मेची–महाकाली संवाद यात्रा गर्नु हुने भएको छ ।
जनताका गुनासा र सुझाव सुन्न तथा पार्टीका कार्यकर्ताहरुसँग साक्षात्कार गर्न महामन्त्री थापाले पूर्वमा मेचीदेखि पश्चिमको महाकालीसम्म यात्रा गर्न लाग्नु भएको हो । पार्टीले घोषणा गरेको ‘समुदायमा कांग्रेस’ अभियानको क्रममा उहाँले आफू पूर्व–पश्चिम यात्रामा निस्किन लागेको जानकारी दिनुभएको हो ।
‘अब तपाईसँग मेरो भेट तपाईकै गाउँमा, तपाईकै ठाउँमा हुनेछ,’ मंगलबार थापाले सामाजिक सञ्जालमार्फत् भन्नु भएको छ, ‘समुदायमा कांग्रेस अभियानअन्तर्गत म माघ १३ गते झापाको भद्रपुर–५, मेचीपुल भन्सारबाट तपाईसँगको संवाद यात्रामा हुनेछु ।’पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्म महामन्त्री थापाले हुलाकी राजमार्ग वरपर भएर यात्रा गर्न लाग्नु भएको हो ।
कांग्रेसको आन्तरिक राजनीतिमा युवा पुस्ताबाट लोकप्रिय मतसहित पार्टीको नेतृत्वमा उदाउनु भएका महामन्त्री थापा गएको संसदीय दलको निर्वाचनमा सभापति शेरबहादुर देउवासँग प्रत्यासी बन्नुभएको थियो ।
निकटस्थ नेताहरूका अनुसार थापा अब पार्टीको सभापति बन्ने तयारीमा हुनुहुन्छ । यो यात्रालाई त्यसकारण पनि महत्वका साथ हेरिएको छ ।
महामन्त्री थापाले समुदायमा कांग्रेस अभियानका क्रममा हुने कार्यक्रमहरूमा सहभागी भएर जनताका कुरा सुन्ने बताउनु भएको छ । यात्राका क्रममा औपचारिक कार्यक्रमहरु नगर्ने उहाँको घोषणा छ । एक जिल्लामा कम्तिमा ५ वटा कार्यक्रममा सहभागी हुने र सकेसम्म धेरै सर्वसाधारणका कुरा सुन्ने उहाँको तयारी छ ।
महामन्त्री थापाले यात्राका क्रममा झापादेखि मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरसम्म पुग्ने कार्यक्रम रहेको छ । संवाद यात्रा माघ २६ गते सकिनेछ ।








प्रतिक्रिया