
काठमाडौं, ९ माघ । सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको बेला नियमनलाई सहज बनाउन सरकारले अनलाइनबाटै गुनासो दर्ता गर्ने प्रक्रिया सुरु गरेको छ ।
सरकारले गत मंसिर ११ गते सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० जारी गरेको थियो । सोही निर्देशिकाको आधारमा अनलाइनबाट गुनासो दर्ताको प्रक्रिया सुरु गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जानकारी दिएको छ ।
प्रयोगकर्ताको गुनासो सुनुवाईलाई सहज बनाउन मन्त्रालयले निर्देशिकाको आधारमा सामाजिक सञ्जाल व्यवस्था इकाई स्थापना गरिसकेको छ । सामाजिक सञ्जालको दुरुपयोग रोक्न निर्देशिकाका आधारमा सामाजिक सञ्जाल व्यवस्थापन इकाई स्थापना गरेर अनलाइन गुनासो लिन सुरु गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव एवं सामाजिक सञ्जाल व्यवस्थापन इकाईका संयोजक रमेश पाण्डेयले जानकारी दिनुभएको छ ।
मन्त्रालयको वेबसाइटमा गएर ‘सामाजिक सञ्जाल गुनासो दर्ता’ आइनमा क्लिक गरेर वा सोझै लिङ्कमा गएर गुनासो दर्ता गर्न सकिने संयोजक पाण्डेयले बताउनुभयो । प्राप्त गुनासोहरुको अध्ययन गरेर साइबर अपराधसँग सम्बन्धित भए प्रहरीमा लेखी पठाउने र सामाजिक सञ्जाल प्लेटफर्मले समाधान गर्नुपर्ने विषय भए सम्बन्धित प्लेटफर्मको सम्पर्क व्यक्तिलाई लेखी पठाउने उहाँले जानकारी दिनुभयो ।
सरकारले गत मंसिर ११ गते निर्देशिका जारी गर्दै नेपालमा सामाजिक सञ्जालको रुपमा सञ्जालनमा रहेका सबै प्लटेफर्महरुलाई तीन महिनाभित्र सूचीकरण गर्न सूचित गरेको थियो ।
सामाजिक सञ्जाल प्लेटफर्म जुनसुकै देशबाट सञ्चालन भएको भएपनि नेपालमा सम्पर्क व्यक्ति तोक्नुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ । प्लेटफर्मले तोकेका सम्पर्क व्यक्तिमार्फत प्रयोगकर्ताको गुनासो सम्बन्धित प्लेटफर्ममा पठाइने संयोजक पाण्डेयको भनाइ छ ।








प्रतिक्रिया