
काठमाडौं, ९ माघ । कुनै पनि राजनीतिक दलको नेतामाथि नैतिक प्रश्न उठ्यो भने त्यो नेताले के गर्नुपर्छ ? या त्यो नेता आवद्व दलको के भूमिका हुन्छ ? भन्ने प्रश्नले अहिले ठोस जवाफ मागिरहेको अवस्था छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी अहिले यो प्रश्नको ठोस र चित्तबुझ्दो जवाफ दिनुपर्ने स्थानमा छ, जसको नेतृत्वमाथि नैतिक प्रश्न उठेको छ । नेतृत्वमाथि नै सार्वजनिक रूपमा नैतिक जवाफदेहिताको प्रश्न उठेपछि स्वाभाविक छ कि दल त्यसबाट पन्छिन सम्भव छैन ?। उदीयमान दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एकपछि अर्को गम्भीर प्रकृतिका नैतिक प्रश्नले घेरिँदै आउनु भएको छ ।
उहाँको स्पष्टीकरणले कुनैपनि प्रश्नको सही जवाफ नपुगेर विवाद जारी छ । लामिछाने मात्र होइन उहाँकै एकजना सहयोगी आर्थिक अपचलनको आरोप लागेपछि पदमुक्त भइसक्नु भएको छ । सभापति लामिछानेकै अध्यक्षतामा बसेको रास्वपाको बैठकले नै उहाँलाई सबै पदहरुबाट हटाएको थियो । तर सभापति लामिछानेमाथि लागेका आरोपहरुको चित्तबुझ्दो जवाफ समेत दिन असमर्थ भैरहँदा पनि पदमा बहाल नै हुनुहुन्छ ।
सहकारीको रकम अपचलन सम्बन्धी विवादले घेरिनुभएका लामिछानेले सोमबार अपरान्ह पत्रकार सम्मेलन गरेर आफूलाई दुरुपयोग गरिएको भन्ने अर्थ लाग्नेगरी स्पष्टीकरण दिने प्रयाश गर्नुभयो । आफ्नो दलका शीर्ष नेताहरुलाई दायाँबाँया राखेर सम्वाददाताहरुसँग उहाँले सञ्चारमाध्यमहरु नै आफूलाई ठग जस्तो देखाउन सक्रिय रहेको आरोप लगाउनुभयो ।
पछिल्ला निर्वाचनहरुमा लोकप्रिय मत पाएर जित्नु भएका सांसद लामिछानेले उपसहित गृह मन्त्रालयको समेत छोटो समय नेतृत्व गरिसक्नु भएको छ । त्यहीबेला उहाँमाथि राहदानी दुरुपयोगको आरोप लागेको थियो । अहिले उहाँले ग्यालेक्सी टीभी (गोर्खा मिडिया नेटवर्क प्रा.लि) का तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा सहकारीको रकम अपचलनको आरोप खेपिरहनु भएको छ । स्थापनाकालमै निकै चर्चा कमाएको ग्यालेक्सी टेलिभिजनबाट बाहिरिँदा बैंक खातामा एक करोड रुपैयाँ जम्मा भएको आरोपमा केन्द्रित भएर सभापति लामिछानेले स्पष्टीकरण दिनु भएको छ ।
राजनीतिमा प्रवेश गर्दा रास्वपा चुनेका बैंकर अनिल केशरी शाह र नेपाली कांग्रेस परित्याग गरेर रास्वपाबाट प्रतिनिधिसभा सदस्य जितेका अर्थशास्त्रीे स्वर्णीम वाग्ले सभापति लामिछानेको स्पष्टीकरणका साक्षी बस्नु भएको थियो । टेलिभिजनमा रहँदा खोजमूलक समाचार प्रस्तोताको नाम कमाएका लामिछानेले राजनीति, व्यवसाय र अरु विभिन्न क्षेत्रका मानिसहरुमाथि नैतिक प्रश्न उठाउँदै आउनु भएको थियो । वैदेशिक रोजगारीका समस्यासँग जोडिएका बिषयहरु प्रशारण गरेर सर्वसाधारणको मन जित्नुभएका लामिछानेले त्यसकै आधारमा राजनीतिक जग निर्माण गर्नु भएको थियो ।
निर्वाचन जित्न उहाँलाई त्यही भूमिकाले साथ दिएकोमा कुनै शंका छैन । तर आज उहाँमाथि कतिपय उस्तै प्रकृतिका प्रश्न उठेका छन्, जसको ठोस जवाफ दिन लामिछानेलाई निकै कठिनाई परिरहेको देखिएको छ । यतिबेला सभापति लामिछानेमाथि उनको बैंक खातामा अज्ञात स्रोतबाट एक करोड रुपैयाँ जम्मा भएको आरोप छ । यो आरोप खण्डन गर्न बैंकर शाहको सहयोग लिएका उहाँले ग्यालेक्सी टिभीको प्रबन्ध निर्देशक रहँदा सहकारीबाट लिएको ऋणलाई सहकारीको बदमासी जस्ता विषयमा बहस गर्न आफ्नै उपसभापति अर्थशास्त्री वाग्लेको तर्कको सहारा लिनुपरिरहेको देखिन्छ । सम्वाददाताहरुसँग प्रश्नोत्तरमा सहभागी हुँदा सभापति लामिछाने आफ्नो बचाउ आफैं गर्ने प्रयत्न पनि नगर्नु भएको होइन । आफ्नो खातामा एक करोड रुपैयाँ कसरी जम्मा भयो भनेर अनभिज्ञता प्रकट गर्दै उनले रकम जम्मा नभएको प्रमाणहरू दिन अनेक तर्क पनि गरिहेरे । यसको सफाई दिन उहाँले पत्रकार सम्मेलन कक्षबाटै सम्बन्धित बैङ्क र शाखाका प्रबन्धकलाई फोन गरेर समेत आफूले प्राप्त गरेको पत्रको आधिकारिकता सार्वजनिक रूपमा पुष्टि गर्ने प्रयत्न गर्नुभयो । त्यो फोन सम्वाद सुनाएर उहाँले पत्रकारहरुलाई थप स्पष्ट पार्ने प्रयास पनि गर्नुभएको थियो ।
गोर्खा मिडिया नेटवर्कले सहकारी संस्थाबाट लिएको ऋण र सभापति लामिछानेको संलग्नताबारे नेपाल प्रहरीको सीआईबीले पनि अनुसन्धान सुरु गरिसकेको छ । सभापति लामिछानेको खाताको ट्रान्जेक्शन क्लियर भएनभएको पुष्टि पनि अनुसन्धानबाट नै हुनेछ । रास्वपा दलले भने सभापति लामिछानेको यो विवादमा आफूलाई अनिर्णयको बन्दी बनाएको देखिन्छ । अरुतिर नैतिक प्रश्न उठाउन अग्रणी देखिन खोजेको यो दलले गएको निर्वाचनमा लोकप्रिय मतले उल्लेख्य संख्यामा प्रतिनिधि जिताएर प्रतिनिधि सभामा ल्याएको थियो । पुराना ठूला दललाई झस्काउने गरी सांसद जितेको यो दलले आगामी निर्वाचनहरुमा अझ हैसियत बढाउने चर्चा भैरहेका बेला उसको नेतृत्वमाथि अनेक नैतिक प्रश्नहरु उठिरहेको छ । तर रास्वपा भने आफ्नै नेतृत्वलाई विवादहरु निरुपण नहुञ्जेलसम्म पनि पदबाट हटाएर निस्क्रिय राख्न हिम्मत गरिरहेको छैन । यसबाट त्यो दलकै भूमिका प्रश्नको घेरामा पर्न थालेको देखिन्छ ।
द्वैध चरित्र प्रदर्शन गरेको जस्तो भूमिकाले स्वयं रास्वापाको राजनीतिक छवि धुमिल बनाउँदै लाने सम्भावना देखिन्छ । ‘ताक परे तिवारी नत्र गोतामे’ भन्ने चर्चित लोकोक्ति जस्तो भूमिकाबाट बच्न नसके उदीयमान दल रास्वपाको राजनीतिक शक्ति स्खलनतिर नबढ्ला भन्न सकिँदैन । सभापति रवि लामिछानेलाई जस्तासुकै विवादमा परेपनि काँधमा बोकेर हिँडिरहे रास्वपाको गति कस्तो हुने हो भनेर सर्वत्र टिकाटिप्पणी भैरहेको देखिन्छ । यसले अन्ततः समग्र राजनीतिक क्षेत्रकै विसंगतिमा मलजल समेत गर्नेछ भनेर राजनीति विश्लेषकहरुले चिन्ता प्रकट गरिरहेको पाइन्छ ।
आफूमाथि लागेका तमाम आरोपहरुबाट क्लिनचिट नपाएसम्म रास्वपा सभापति रबि लामिछानेको राजनीतिक अवस्था ‘उदाउँदो रबिको अस्ताउँदो छवि’ जस्तो हुनपुगेको छ भन्दा अन्यथा हुने देखिँदैन ।








प्रतिक्रिया