
काठमाडौं, ९ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सरकारले लागु गरेको पूर्ण खोप कार्यक्रम अगाडि बढ्न नसकेको बताउनु भएको छ ।
राष्ट्रिय दादुरा–रुबेला खोप अभियानको उच्चस्तरीय बैठकमा बोल्दै उहाँले पूर्ण खोप कार्यक्रम ५२ प्रतिशत भन्दा माथि उठ्न नसकेको भन्दै यसरी लक्ष्य पूरा नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले पूर्ण खोप भनेपनि ५२ प्रतिशतभन्दा अगाडि बढ्न सकेको छैन । यो हामीले आ–आफ्नो तरिकाले परिभाषित गरेर बसिरहेका छौँ । यही तरिकाले अगाडि बढ्ने हो भने हाम्रो लक्ष्य पूरा हुनेमा मलाई विश्वास छैन ।’
मन्त्री बस्नेतले पूर्ण खोप प्रोजेक्टअन्तर्गत नेपालमा आउने बजेटको अन्धाधुन्ध रूपमा खर्च भइरहेको भन्दै यसको छानबिन गर्नुपर्ने बताउनुभयो । उहाँले त्यसअघि भन्नुभयो,‘के के खर्च भईरहेको छ, कहाँ, कसरी खर्च भईरहेको छ, नेपालको नाममा आएको छ कहाँ गएको छ ?, त्यसकारणले सबैतिर छानबिन गर्नुपर्ने अवस्था सिर्जना भएको छ । हामी सेफ द चिल्ड्रेनले गरेको कार्यक्रमबाट सुरुवात गर्दैछांै । छानबिन गर्नका लागि कमिटि गठन गर्दैछौं ।’
स्वास्थ्य क्षेत्रमा सञ्चालित कार्यक्रमहरूका लक्ष्य पूरा नहुन कसले रोक्यो भन्ने प्रश्न गर्दै उहाँले म्याचफिक्सिङ् भएको उल्लेख गर्नुभयो ।
स्वास्थ्य मन्त्रालय संवेदना बोकेको मन्त्रालय भएको बताउँनुहुँदै उहाँले परिणममुखी नतिजा आउने गरी काम गर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘यो जन्ती जाने काम नगरौं, जुन जुन विषयमा नभई नहुने हो जसको विषय विज्ञता छ त्यो जाउँ, अरु काम नभएकाहरु मन्त्रालयमा नै बसौं । यो विषयमा गम्भीर भएर छलफल गरौं । यो कामलाई छिटो अगाडि बढौं ।’









प्रतिक्रिया