
काठमाडौं, ७ माघ । सिभिल तथा आर्किटेक्टमा डिप्लोमा गरी सबइन्जिनियर भएकाहरूलाई इन्जिनियर बन्न नेपाल इन्जिनियरिङ कलेजको बिडिएच (ब्याचलर फर डिप्लोमा होल्डर्स) कार्यक्रमले उच्च शिक्षाको बाटो खोलिदिएको विद्यार्थीहरूले बताएका छन् ।
सिटिइभिटीबाट डिप्लोमा गरी सरकारी तथा गैरसरकारी क्षेत्रमा जागिर खाइरहेकाहरूलाई विश्वविद्यालयको शिक्षा हासिल गर्न बिडिएचले ठूलो सहयोग गरेकोले यो कोर्ष निरन्तर सञ्चालन हुनुपर्ने समेत उनीहरूले बताएका हुन् ।
शनिबार नेपाल इन्जिनियरिङ कलेज (नेक)को बिडिएचतर्फ १४, १५, १६ र १७ औं ब्याचका विद्यार्थीहरूलाई बिदाई कार्यक्रममा बोल्दै विद्यार्थीहरुले नेकको बिडिएच नभएको भए आफूहरूको इन्जिनियर बन्ने सपना पुरा हुनै नसक्ने जिकिर गर्दै बिडिएच कार्यक्रमलाई समयसापेक्ष सुधार्दै निरन्तरता दिई रहनुपर्ने बताए । ‘यो कार्यक्रमको महत्व धेरै छ । नेपाल इन्जिनियरिङ कलेजमा बिडिएच नभएको भए मेरो इन्जिनियर बन्ने सपना पुरा हुँदैनथ्यो,’ बिडिएच पुरा गरी बिदा भएका राजनारायण सरदारले भन्नुभयो ।
डिप्लोमा गरी काम गर्दै गरेका तर पढ्ने चाहना बनाएका विद्यार्थीहरूका लागि इन्जिनियर बन्न बिडिएच महत्वपूर्ण कोर्ष भएकोले त्यसलाई अझ परिमार्जित र समय सापेक्ष बनाउनु पर्ने उहाँको भनाई छ । ‘दिनभर काम गरी साँझ पढ्ने अवसर पाउनु ठूलो कुरा हो,’ सरदार भन्नुहुन्छ ।
बिडिएचकै कारण नेपाल सरकारको उपसचिवमा बढुवाको क्रममा रहेकी विद्यार्थी सृष्टि ख्वलपलले डिप्लोमा मात्र गरेका धेरै विद्यार्थीहरुले बिडिएचले इन्जिनियर बनाएको भन्दै आफूले सरकारी सेवामा हासिल गरेको सफलतामा बिडिएचको योगदान रहेको बताउनुभयो । ‘नेक बिडिएच नभएको भए मैले कि जागिर छाड्नु पथ्र्यो कि यत्तिकै बिदा हुनुपथ्र्यो । तर, गर्वको कुरा अबको २, ३ महिनामा बढुवा भएर उपसचिव हुँदैछु,’ उहाँले भन्नुभयो । नेपाल इन्जिनियरिङ काउन्सिलले पछिल्लो समय इन्जिनियरिङ लाइसेन्स परीक्षा लिएकोमा त्यसलाई केही सुधार्नु पर्नेमा उहाँले जोड दिनुभयो । चार साँढे चार वर्षको कोर्ष पुरा गरेका विद्यार्थीहरूलाई प्रोत्साहन गर्नुपर्ने उहाँको भनाई छ ।
विद्यार्थी ज्ञानमान श्रेष्ठ, सुरेन्द्र महरा, गौतम अवस्थीले सिभिल र आर्किटेक्ट सँगै अन्य विधामा डिप्लोमा गरेकाहरूलाई पनि उच्च शिक्षा हासिल गर्ने बाटो बनाउन आग्रह गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष प्रा.डा. पदमबहादुर शाहीले बिडिएचले सिटिइभिटीको डिप्लोमा गरेकाहरूलाई उच्च शिक्षा हासिल गर्ने बाटो खोलिदिएको भन्दै नेपालका लागि यो कोर्ष महत्वपूर्ण रहेको बताउनुभयो ।
काम गरेर पढ्ने अवस्था र अवसर भएका विद्यार्थीहरूका लागि डिग्री हासिल गर्न कोर्षले टेवा दिएको भन्दै डा. शाहीले नेपालको विकासका लागि कोर्षको योगदान रहने बताउनुभयो । ब्याचलर गरेकाहरूलाई मास्टर्स गर्न समेत सुझाउँदै मुलुकको विकासका लागि बिहान, दिउँसो र बेलुका गरी ३ सिफ्टमा पढाई हुनुपर्ने बताउनुभयो। ‘देशको विकास गर्न अब ३ सिफ्टमा पढाउनु पर्छ । काम गर्दै पढ्ने वातावरण हुनुपर्छ,’ उहाँले भन्नुभयो ।
कलेजका कार्यवाहक प्राचार्य दुर्गाप्रसाद भण्डारीले डिप्लोमा होल्डर्सहरुलाई सम्बोधन गर्न तयार पारिएको बिडिएच कार्यक्रमले दक्ष जनशक्ति उत्पादनमा टेवा पुगेको बताउनुभयो । कलेजले बिडिएच कार्यक्रमलाई अझै विद्यार्थीमाझ पु¥याउन नसकिरहेको अवस्थामा कलेजबाट पास आउट भएका विद्यार्थीहरूले अब ब्राण्ड एम्बेसडरको काम गर्नुपर्ने बताउनुभयो । साँढे चार वर्षको कोर्षलाई परिमार्जन गरी ४ वर्षको बनाउन पोखरा विश्वविद्यालय सकारात्मक रहेकोले काम गर्दै पढ्ने विद्यार्थीका लागि यो कोर्ष अत्यन्त प्रभावकारी भएको उनको भनाइ छ ।
विश्वविद्यालय भन्दा अगाडि कलेज
पोखरा विश्वविद्यालयले भन्दा अगाडि नेपाल इन्जिनियरिङ कलेजले सुरु गरेको विषय हो बिडिएच । डिप्लोमा इन्जिनियर्स एसोसिएसन नेपालको पहलमा नेपालमा पहिलो पटक सरकारी तथा गैरसरकारी संघ संस्थामा कार्यरत सिभिल तथा आर्किटेक्चर सबइन्जिनियरहरूको लागि नेपाल इन्जिनियरिङ कलेजका तत्कालीन संस्थापक अध्यक्ष स्व.प्रा.डा. दीपक भट्टराई, कलेजका निवर्तमान प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठ र प्रा.डा. राजेन्द्र प्रसाद अधिकारीले विश्वविद्यालयसँग समन्वय गरि सन् २००१ देखि ‘ब्याचलर इन सिभिल इन्जिनियरिङ फर डिप्लोमा होल्डर्स’ कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
नौं सेमेस्टरको बिडिएच अन्य कार्यक्रम भन्दा एक सेमेस्टर लामो छ । स्नातक तहका अन्य कोर्ष चार वर्षको हुँदा यो कोर्ष पुरा गर्न साढे ४ वर्ष लाग्छ । तथापि, पोखरा विश्वविद्यालय यो कोर्ष परिमार्जन गर्न सकारात्मक देखिएको छ ।
बिडिएच कार्यक्रम सञ्चालनमा आएपछि सरकारी तथा गैरसरकारी संघ संस्थामा कार्यरत सयौं सिभिल तथा आर्किटेक्चर सबइन्जिनियरहरू सिभिल इन्जिनियर भइसकेका छन् ।








प्रतिक्रिया