
काठमाडौं, ७ माघ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङलाई जाजरकोट भूकम्पपीडितका लागि चीन सरकारले सहयोग गरेको राहत सामग्रीमा भ्रष्टाचार गरेको आरोप लागेको छ ।
माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य गोरखबहादुर केसी (सन्देश)ले पार्टीका महासचिव गुरुङले भूकम्प पीडितको राहतमा भ्रष्टाचार गरेको आरोप लगाउनुभएको हो । भूकम्प प्रभावितका लागि चिनियाँ कम्युनिष्ट पार्टीले पठाएको राहत सामग्रीमा महासचिव गुरुङले आफ्ना नातेदारसँग मिलेर भ्रष्टाचार गरेको केसीको दाबी छ ।
राहत वितरणको नेतृत्व गरेर रुकुम पश्चिम र जाजरकोट पुगेकी चिनियाँ महिलामाथि हातपात गरेको भन्दै पार्टीले केसीमाथि स्पष्टीकरण सोध्दै कारबाही प्रक्रिया अघि बढाएपछि पार्टीले सोधेको स्पष्टीकरणमा जवाफ दिँदै केसीले महासचिव गुरुङ आफ्ना नातेदार मुक्ति मरासिनीसँग मिलेर भ्रष्टाचार गरेको भन्दै छानबिनका लागि पार्टी र सरकारलाई आग्रह गर्नुभएको छ ।
पार्टीको पुस २८ गतेको स्थायी समिति बैठकले वैकल्पिक केन्द्रीय सदस्य केसीलाई स्पष्टीकरण सोध्दै कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । केसीले ६ पृष्ठको स्पष्टीकरण दिँदै महासचिवमाथि भ्रष्टाचारको गम्भीर आरोप लगाउँदै अनुसन्धानको माग गर्नुभएको हो ।
‘ग्लोबल कर्पोरेसन फर डेभलभमेन्टका कन्ट्री डाइरेक्टर मुक्ति मरासिनी देव गुरुङको सहोदर भदैनीको श्रीमान् हुन र यी एकाघरका नातेदार तथा देव गुरुङलेनै भनसुन गरी चिनियाँहरूको प्रोजेक्ट मरासिनीको संस्थालाई दिलाएको तथा यसको भ्रष्टाचारबाट हुने आम्दानीमा यी दुवै हिस्सेदार रहेको बारेमा पार्टी र सरकारले गम्भीरतापूर्वक छानबिन गरोस् ।’ केसीले दिनुभएको स्पष्टीकरणमा उल्लेख छ ।
आफूले राहत वितरणमा अनियमितता भएको कुरा उठाएपछि आफूमाथि प्रहार भएको उहाँको दाबी छ । ‘एक परिवारलाई ४० हजारका दरले सामान दिने भनिएको थियो, पछि देव गुरुङले नै रुकुम पश्चिम पुगेर प्रति परिवार २३ हजार हाराहारीको राहत छ भन्नुभएको थियो, तर तल वितरण गरिएको सामान हेर्दा १० हजारको पनि देखिन्न, माधव नेपालले रुकुम पश्चिम पुगेर राहतमा सोलार समेत रहेको भन्नु भएको थियो त्यो पनि दिइएको छैन, ७५ प्रतिशत ठूला र बाँकी रहेको २५ प्रतिशत पनि तलकाले खाएका छन्, आठबिसकोटमा भूकम्प प्रभावितले केही पनि पाएनन्, यही विषयमा प्रश्न गर्दा मलाई कारबाही गर्न खोजियो ।’ उहाँले भन्नुभएको छ ।
माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष विमला केसी पनि आफूविरुद्ध लागेको केसीको आरोप छ । आठबिसकोट नगरपालिकाका लागि भनिएको दुई सय पिस राहत प्याकेज अध्यक्ष केसीले लुटेर सानीभेरीमा लिएको केसीले आरोप लगाउनुभएको छ । आफूले राहत प्याकेजको गुणस्तरीयता र मात्रामा प्रश्न उठाएपछि चिनियाँ महिलासँग जाजरकोटको रिम्नामा रहेको आफ्नो घरमा सामान्य विवाद भएको र पछि उक्त महिलाले नै आफूमाथि दुर्व्यवहार गर्न खोजेपछि घटना घटेको स्पष्ट पार्नुभएको छ ।
















प्रतिक्रिया