
काठमाडौं, ६ माघ । नेपालीका कांग्रेसका नेता तथा राष्ट्रियसभामा कोशी प्रदेशका उमेदवार कृष्णप्रसाद सिटौला यतिबेला चुनावी अभियानमा हुनुहुन्छ । कोशी प्रदेशका १४ वटै जिल्लामा पुग्ने प्रयासमा हुनुहुन्छ ।
मतदाता र शुभेच्छुकहरुलाई भेटघाट गरिरहेका छन् । राष्ट्रिय सभा अध्यक्षका रुपमा हेरिएका सिटौलाले भेटघाटका क्रममा आफ्नो आकांक्षा भने खुलाउनु भएको छैन् । पहिले राष्ट्रिय सभा सदस्यका रुपमा संसद छिर्ने उहाँको ध्यान केन्द्रीत छ ।
त्यसैले उहाँले सत्तारुढ गठबन्धन उपयोगी र आवश्यक भएको प्रतिक्रिया दिइरहनुभएको छ । गठबन्धनको सबै मत आफ्नो पक्षमा पार्न उहाँ केन्द्रीत हुनुहुन्छ । मत माग्न ओखलढुंगा पुगेका बेलापनि नेता सिटौलाले गठबन्धनको भविष्यबारे कतिपयले प्रश्न गरिरहेको भन्दै अर्को चुनावसम्म गठबन्धन कायम रहने प्रतिक्रिया दिनुभयो । उहाँ गठबन्धनप्रति इमान्दार भएर प्रश्तुत भइरहनुभएको छ ।
गठबन्धन पार्टी र नेताका लागि भन्दापनि जनताका लागि बनेको उहाँको भनाइ छ । संविधानको रक्षा, सफल कार्यान्वयन, जनताका हकअधिकार सुनिश्चित गर्न र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न गठबन्धन बनेको उहाँको तर्क छ ।
गठबन्धनप्रति वफादार बनेका सिटौला मत क्रस हुन नदिन अधिकतम मेहेनत गरिरहनुभएको छ ।
कांग्रेसभित्रका नेताहरुको व्यवस्थापनदेखि गठबन्धनका मतदाताहरु फकाउनमा केन्द्रित छन् । उम्मेदवार छनोटमा असन्तुष्टि जनाएका नेता डाक्टर शेखर कोइराला सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउनुपर्छ भन्नेमा हुनुहुन्छ । डा.कोइराला सिटौलालाई संघीय संसद प्रवेश गराउनेमात्र नभइ उहाँको इतिहासलाई सम्मान गर्दै अध्यक्ष नै बनाउनुपर्छ भनेर अभिव्यक्ति पनि दिइरहनुभएको छ ।
महामन्त्री विश्वप्रकाश शर्माले पनि सिटौलाले अब राष्ट्रिय सभाको नेतृत्व गर्ने दाबी गर्नुहुन्छ । अढाइ दशकयता राष्ट्रिय र दलीय राजनीतिको केन्द्र विन्दुमा रहेका सिटौलालाई संकट मोचकका रुपमा पनि लिने गरिन्छ ।
कतिपय विश्लेषकहरुले सिटौलालाई देशका लागि ‘क्राइसिस म्यानेजमेन्ट म्यान’का रुपमा पनि बुझ्ने गरेका छन् । समन्वयकारी र सन्तुलित भूमिकाका कारण सिटौला प्रतिस्पर्धी दलका नेताहरुका पनि प्रिय मानिनुहुन्छ । शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउँदै माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन सिटौलाको भूमिकाका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि प्रभावित देखिनुहुन्छ ।
त्यसैले राष्ट्रिय सभा निर्वाचनको पूर्वसन्ध्यामा १९ उम्मेदवार मध्ये सिटौला केन्द्रविन्दुमा हुनुहुन्छ । उम्मेदवारी दर्ता गर्न विराटनगर ओर्लिनुअघि उहाँलाई पार्टी सभापति शेरबहादुर देउवा र प्रचण्डले ग्रिन सिग्नल दिएको अनुमान गरिन्छ ।
‘तपाईंलाई राष्ट्रपति बनाउन सकिएन, त्यहाँ रामचन्द्र पौडेललाई नल्याई भएन,’ प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाले सिटौलासँग भनेको भनाई उदृत गर्दै कांग्रेस उच्च सूत्रले भन्यो,‘अब तपाईं राष्ट्रिय सभाको अध्यक्ष हुनुहोस्, त्यो पनि संवैधानिक पद नै हो ।’
यता, प्रचण्डले शान्ति प्रक्रियादेखि संविधान घोषणा गर्दासम्म निरन्तर सहयोग गरेकाले पनि सिटौलालाई राष्ट्रिय सभाको नेतृत्वमा पुर्याउन वचनवद्ध रहेको निकटस्थहरुसँग बताउनुभएको छ ।
राष्ट्रिय सभा अध्यक्षका रुपमा हेरिएका सिटौला आफ्नो इच्छाका बारेमा कसैलाई सुनाउनुभएको छैन् । यद्यपी, अध्यक्ष नभइ मन्त्रिमण्डलमा सरिक हुनसक्ने अनुमान पनि गरिएको छ । उपप्रधानमन्त्रीको हैसियतसहित गृह मन्त्रालयको जिम्मेवारी दिनेगरी कसरत भइरहेको चर्चा शुरु भएको छ ।
माघ ११ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनपछि राजनीतिक समीकरण र मन्त्रीहरुको हेरफेर हुनसक्ने भएकाले सिटौला राष्ट्रिय सभा अध्यक्ष नै बन्लान भनेर अनुमान गरिहाल्न सकिदैन ।
गिरिजाप्रसाद कोइराला, शुसिल कोइराला र हाल देउवासँग निकट रहेर राजनीतिक पावरमा रहेका सिटौलाले माघ ११ गतेको चुनावमा विजयी भएमा उपप्रधानसहित गृह वा राष्ट्रिय सभा अध्यक्ष बन्ने लगभग पक्कापक्की छ । तर सिटौलाले कुन पद रोज्छन त्यसले पनि अर्थ राख्नेछ ।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल यही फागुनमा सकिँदैछ । ५९ सदस्यीय राष्ट्रियसभामा माओवादीका १५ सांसद छन् । माघ ११ को निर्वाचन पछि थप ६ सांसद राष्ट्रियसभामा प्रवेश गर्दैछन् । एमालेका ९ संसदको कार्यकाल सकिएपछि माओवादी पहिलो दल बन्ने भएकाले माओवादी आफैंले अध्यक्ष लिनसक्ने अनुमान पनि गरिन्छ । त्यसो हुँदा सिटौला मन्त्रीका रुपमा देखिन सक्नुहुन्छ ।








प्रतिक्रिया