२१ असार २०८३, आइतबार

म्याग्दीमा राष्ट्रिय परिचयपत्रको निःशुल्क फारम भर्न सुरु

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी, ६ माघ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले राष्ट्रिय परिचयपत्रको अनलाइन फारम निःशुल्क भर्ने सेवा सुरु गरेको छ ।

आफैँ अनलाइन फारम भर्न नसक्ने सेवाग्राहीले शुल्क तिरेर व्यवसायीको सहायता लिने गरेका थिए । निःशुल्क रुपमा प्रशासन कार्यालयमै फारम भरिदिन थालिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले राससलाई जानकारी दिनुभयो ।

“राष्ट्रिय परिचयपत्रको अनलाइन फारम भर्न छुट्टै कर्मचारी, कम्प्युटर र प्रिन्टरको व्यवस्था मिलाएका छौँ,” उहाँले भन्नुभयो “आफैँ भर्न सक्नेले आफैँ भर्नुहुन्छ । नसक्ने सेवाग्राहीले बजारका साइबरमा शुल्क तिरेर राष्ट्रिय परिचयपत्रको अनलाइन फारम र विवरण भर्नु पर्दैन । कर्मचारीले भरिदिने व्यवस्था मिलाएका छौँ ।”

निःशुल्क रुपमा प्रशासनमै अनलाइन फारम भर्दा खर्चको बचत र झञ्जट हटेको बेनी नगरपालिका–२ गौस्वाराकी सपना केसीले बताउनुभयो । “बजारको साइबरमा राष्ट्रिय परिचयपत्रको अनलाइन फारम भरेको रु. एक सय देखि रु. दुई सय तिर्नुपर्दथ्यो,” केसीले भन्नुभयो “प्रशासनमा निःशुल्क फारम भर्न पाउँदा खर्च बचत हुनुका साथै झञ्जट पनि हट्यो ।”

प्रशासन कार्यालयका अनुसार म्याग्दीमा दैनिक ३५ जनाले राष्ट्रिय परिचयपत्रको अनलाइन फारम, विवरण भर्ने र बायोमेट्रिक गर्ने सेवा लिने गरेका छन् । व्यक्तिको आँखा, अनुहार, हात, औँठाछाप आदिको विद्युतीय (डिजिटल) विवरण सङ्कलन गर्ने आधुनिक प्रणालीलाई बायोमेट्रिक भनिन्छ ।

सहायक प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीलाई सहजताका लागि मौजुदा कर्मचारी परिचालन गरेर अनलाइन फराम निःशुल्क भर्ने व्यवस्था मिलाएको बताउनुभयो । राहदानीको अनलाइन फराम भर्ने सेवालाई पनि सुरु गर्ने तयारी भएको उहाँले सुनाउनुभयो ।