१६ असार २०८३, मंगलबार

बागलुङको जैमिनीमा खेतबारी बाँझिँदै

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गलकोट (बागलुङ), ६ माघ । ऋणात्मक जनसङ्ख्या वृद्धि हुँदै गएको बागलुङको जैमिनी नगरपालिकाका गाउँगाउँका खेतबारी पछिल्लो समय बाँझिन थालेका छन् । बसाइँसराइ तीव्र हुँदै गएपछि जैमिनी नगरपालिकामा खेतीयोग्य जमिन क्रमशः बाँझिन थालेका हुन् ।

खेतीयोग्य जमिन बाँझो हुन थालेपछि यहाँका घर आँगनमा रुख बिरुवा उम्रन थालेका छन् । रुख बिरुवा बढ्न थालेपछि बाँदरले दुःख दिन थालेका स्थानीय बताउँछन् । जैमिनी–५ बिनामारेमा रहेको वडा कार्यालय आसपासको बारी बाँझो छ । पछिल्लो चाररपाँच वर्षदेखि जग्गाधनी बसाइँसरेर सहर गएपछि यहाँको जग्गा बाँझो रहेको वडाध्यक्ष ठगेन्द्रबहादुर थापा क्षत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार वडा कार्यालयअघिको खेतीयोग्य जग्गा सिँचाइको अभावमा पाँच वर्षअघि मात्रै बारीमा परिणत गरिएको थियो ।

उक्त जग्गाका धनी पोखरा बसाइँसरेपछि जग्गा हेरचाहको जिम्मा लिएकाले खेती गर्न नसकेपछि जग्गा बाँझो बनेको क्षत्रीको भनाइ छ । “बिनामारेको वडा कार्यालय परिसरको जग्गा त उदाहारण मात्रै हो । जैमिनीमा धेरै जग्गा बाँझो हुन थालेका छन्”, उहाँले भन्नुभयो, “केही जग्गा बसाइँसराइका कारणले बाँझिन थालेको हो भने, केही जग्गा बाँदर आतङ्कका कारण बाँझिएका छन् ।”

क्षत्रीका अनुसार नगरपालिकाले बाँझो जग्गामा एकीकृत खेती गर्न ‘पढ्दै कमाउँदै’, ‘लिड विद्यालय’ र ‘एक विद्यालय एक उत्पादन’ कार्यक्रम ल्याएको छ । “वडाका अधिकांश घर रित्तै छन् । गाउँघरमा मानिसको सङ्ख्या कम हुन थालेपछि बाँदर बढ्न थाले, गाउँमा बस्नेलाई बाँदरको आतङ्कका कारण खेती गर्न समस्या हुन थाल्यो”, उहाँले भन्नुभयो, “बसाइँ सर्नेहरु सरिसके, गाउँमा बाँकी रहेकालाई समेत बाँदरले बसाइँसराइका लागि बाध्य बनाउँदै छ ।”

बिनामारेका कृषक पवन सुवेदीले बाँझो जग्गाले नगरवासीलाई थप बसाइँसराइ उन्मुख गराइरहेको बताउनुभयो । सिँचाइको सुविधा नभएका क्षेत्रमा जग्गा बाँझिदै गएको बताउँदै उहाँले जग्गा बाँझिन थालेपछि बाँदर आतङ्त बढेको सुनाउनुभयो ।

सुवेदीका अनुसार नगरपालिकाले बाँदर नियन्त्रण गर्ने र खेतीयोग्य जग्गामा एकीकृत खेती प्रणालीको अवधारणा ल्याउन जरुरी छ । “जैमिनीमा सडक बन्दै छ, विद्युत् आयो, स्वास्थ्य सेवा विस्तार हुँदैछ तर, जग्गा बाँझिदै छ । बाँदरले गाउँका मान्छे सहरतर्फ लखेट्दै छ”, उहाँले भन्नुभयो, “बसाइँसराइले जनसङ्ख्या घट्दै गएपछि बाँदरको सङ्ख्यामा वृद्धि भयो, अहिले सामान्य नागरिक, गरिब तथा विपन्न मात्रै गाउँमा छन् । हुनेखाने बसाइँसराइ सरेर बजारतर्फ लागे ।”

नगर क्षेत्रमा पर्ने गाउँका जग्गा बाँझिन थालेपछि नगरपालिकाले विज्ञ सम्मेलनमार्फत चक्रिय नगदे बालीको अवधारण ल्याएको नगरप्रमुख नरबहादुर पुनले बताउनुभयो । “स्वास्थ्य र शिक्षामा केन्द्रित भएपछि केहीमात्रामा बसाइँसराइ रोकिन्छ । बाँझो जग्गालाई एकीकृत गर्ने भिरालो जग्गामा उन्नत जातका घाँस लगाउने, फलफूलखेती विस्तार गर्ने योजना हो”, उहाँले भन्नुभयो, “निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायिक बनाउन प्रेरित गर्ने कार्यक्रम ल्याउने योजनामा छौँ । बजारीकरणमा पालिकाले सघाउनेछ ।”

नगरपालिकाभित्रको कृषि सडकको स्तरोन्नति भएमा मात्रै जैमिनीमा उत्पादन भएको तरकारी र सुन्तला बजारीकरणमा सहज हुने स्थानीय किसान भोजबहादुर बोहोराले बताउनुभयो । उहाँले सिँचाइको सुविधा नभएकाले धेरै जग्गामा यहाँका स्थानीयले खेती गर्न नसकेको बताउँदै भिरालो सानो बारीमा फलफूल र घाँसखेती गर्ने र चक्ला फाँटमा मात्रै एकीकृत खेती प्रणाली अपनाउन आवश्यक रहेको बताउनुभयो ।

जैमिनी नगरपालिकाले बाँदर भुलाउन ‘मङ्की पार्क’ बनाउन बजेट नै विनियोजन गरिसकेको नगरउपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार नगरलाई कृषि र पर्यटनका क्षेत्रबाट मात्रै विकास गर्न सम्भव रहेको विज्ञको सुझावका आधारमा नीति बनाएर अगाडि बढेको बताउनुभयो ।

उपप्रमुख शर्माका अनुसार आगामी कार्यकालसम्म नगरपालिकालाई कृषि र पर्यटनमार्फत समृद्धतर्फ डोर्‍याउने गरी आधार निर्माण गर्न नगरपालिका लागिपरेको छ । नेपालको जनगणना २०७८ अनुसार ऋणात्मक जनसङ्ख्या वृद्धि भएको जैमिनी नगरपालिकामा बसाइँसराइ प्रमुख समस्याका रुपमा रहेको छ ।