
कावासोती, ६ माघ । नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले देश दोबाटोमा उभिएको बताउनुभएको छ ।
एमाले नवलपुरको नवौं जिल्ला बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । समाजवादको आधार तय गरेर देशलाई अगाडि बढाउनुपर्नेमा वर्तमान गठबन्धन सरकार अलमलमा पर्दा देश दोबाटोमा उभिएको उहाँले आरोप लगाउनुभयो ।
‘सरकारले प्राकृतिक स्रोत साधनमाथिको राष्ट्रिय पुहुँच गुमाउँदै गएको छ । २० करोड भारतीय योजनालाई सोझै कार्यान्वयनमा लैजाने र भारतमा बिक्री गर्ने भनिएको बिद्युत सम्झौताका केही प्रावधानले प्राकृतिक श्रोत साधनमाथि देशले पुहँच गुमाउने खतरा बढेको छ ।’ उहाँले भन्नुभयो, ‘नेपालले आफ्नो हित हुने गरी पञ्चशीलका आधारमा वैदेशिक सम्बन्धहरु अगाडि बढाउन पर्छ’ ।

‘हाम्रो निर्वाचन प्रणालीले एकल बहुमतको सरकार बनाउन कठिन छ । एमाले श्रमजीवीको पक्षमा आवाज उठाउने पार्टी हो यहाँ पुँजीवादी पार्टी पनि छन् । त्यसमा कहिले को संग त कहिले को संग सरकार बनाउनुपर्ने अवस्था छ । यस्तो अवस्थामा सरकार आउँछ, जनवादी सत्ता आउँदैन त्यसैले समाजवादको आधार तयार गर्न एमालेलाई एकल बहुमतको पार्टी बनाउनुपर्छ सचिव विष्टले भन्नुभयो –‘ सामाजिक सुरक्षा, समाजिक न्याय सहितको आधारमा समाजवादमा पुग्ने लक्ष्य एमालेको हो ।’
उहाँले पूँजीवादको शोषण हिजो भन्दा फरक रहेको र गरिब मुलुकलाई पूँजीवादले शोषणा गरिरहेको भन्दै त्यसबाट बच्नुपर्ने बताउनुभयो । अनेक बाहनाले वर्गीय द्धन्द्धलाई मेटाउन पूँजीवाद लागेको छ । पूँजीवादको शोषण हिजो भन्दा फरक छ । गरिब मुलुकलाई पूँजीवादले शोषणा गरिरहेको छ हामी त्यसबाट बच्नुपर्छ । आज ज्ञान र सूचनाको आधारमा वर्गको उत्पत्ति फरक बनेको छ । हिजोको व्याख्याले वर्ग समाज अधुरो हुन्छ, गल्तीलाई सच्चाएर पार्टी अगाडि बढ्छ विष्टले थप्नुभयो–‘ छिमेकी देशहरुको आर्थिक वद्धिदरलाई हेरेर हामी अगाडि बढ्नु पर्छ’ ।
अनुभव र आकर्षण दुबैलाई व्यवस्थापन गर्ने गरी नयाँ प्रकारको संरचनामा पार्टी जानुपर्ने आवश्यकता रहेको उहाँले औल्याउनुभयो । संगठनात्मक अराजकतालाई परास्त गर्न योग्यताको आधारमा जिम्मेवारी र जिम्मेवारीको आधारमा मूल्यांकन गरिनुपर्नेमा विष्टको जोड रहेको छ ।
बैठकमा एमाले पोलिटब्युरो सदस्य मनकुमारी जिसी केसीले पार्टीको कार्यक्रम र विचार जनताकोबीचमा स्थापित गर्न कार्यकर्ता लाग्नुपर्नेमा जोड दिनुभयो ।
एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडीले प्रदेशले गरेका निर्णयहरु कार्यान्वयनमा जोड दिँदै बैठकले गरेका निर्णयहरु कार्यन्वयन हुँदा पार्टी चलायनमान हुने धारणा राख्नुभयो । बैठकले चैतको २ र ३ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको जिल्ला अध्यक्ष मुक्तिराम पाण्डेले जानकारी दिनुभयो ।









प्रतिक्रिया