
सुर्खेत, ६ माघ । सुर्खेतको वीरेन्द्रनगरमा टिकट काउन्टरका विषयमा दुई यातायात व्यवसायी समूहबीच शनिबार बिहान झडप भएको छ । झडपमा दुई जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
वीरेन्द्रनगर नगरपालिका–१० बुलबुले चोकस्थित भिजिट कर्णाली यातायात प्रालि र संयुक्त यातायात प्रालिका व्यवसायीबीच झडप भएको हो । यातायात व्यवसायीको आक्रमणबाट बुलबुले काउन्टरमा रहेका भिजिट कर्णाली यातायतका कर्मचारी समेत घाइते भएको भिजिट कर्णाली यातायात प्रालिका अध्यक्ष प्रकाश शाहीले बताउनुभएको छ ।
उहाँले सुर्खेतका यातायात व्यवयासी र उनीहरुले खटाएको कर्मचारीबाट आफूहरुको बुलबुले चोकमा रहेको मुख्य टिकट काउन्टरमा आक्रमण भएको बताउनुभएको हो । आक्रमण हुँदा संरचनासहित कर्मचारी लोकेन्द्र शाही, गगनशाही लगायत चार जना घाइते भएको जानकारी दिनुभयो । बसपार्कबाट आएको यायायात व्यवसायीको हुलले आक्रमण गरेको उहाँले बताउनुभयो।
अध्यक्ष शाहीले यातायात सञ्चालनका विषयमा कानुनी प्रक्रिया पूरा गरेर भिजिट कर्णाली यातायात प्रालिले गत पुस २४ गतेदेखि स्कार्पियो जीपबाट नागरिकहरूलाई सेवा दिइरहेको बताउनुभयो । उहाँका अनुसार घाइतेहरुको उपचार प्रदेश अस्पताल कालागाउँ वीरेन्द्रनगरमा उपचार भइरहेको छ ।
संयुक्त यातायात व्यवसायीमा आवद्ध केही व्यक्तिले हतियार प्रहार गरेर आफ्ना कर्मचारीलाई घाइते बनाएको भिजिट कर्णाली यातायात प्रालिको आरोप छ । संयुक्त यातायात सेवाले भने भिजिट यातायात प्रालिलाई मनोमानी तरिकाले टिकट काटेको आरोप लगाएको छ । झडपपछि केही समय बन्द भएको रत्नराजमार्ग खुलाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उक्त स्थानमा प्रहरी तैनाथ गरिएको छ ।








प्रतिक्रिया