२८ जेष्ठ २०८३, बिहिबार

अब बालाजु जलाधार क्षेत्रबाट ३ करोड लिटर पानी जमिनमुनि पठाइने

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ माघ । बालाजु पार्कको जलाधार क्षेत्रबाट वार्षिक करिब ३ करोड लिटर (३० हजार किलोलिटर) पानी पुनःभरण हुने प्रणाली निर्माण गरिएको छ । यो बर्खामा आकाशबाट परेको पानी जमिनमुनि पठाउने प्रणाली हो ।

काठमाडौं महानगरपालिकाले कोकाकोला वेभरेज नेपाल, सेन्टर फर इन्टिग्रेटेड अर्वन डेभलपमेन्ट र वाटर एड नेपालसँगको सहकार्यमा सो प्रणाली विकास गरेको हो ।

रिचार्ज प्रणालीमा २१ वटा फिल्टर च्याम्बर, २१ वटै रिचार्ज इनार, दुईवटा डिसिल्टिङ चेम्बर, ७५ फिट अग्लो रिचार्ज ट्रेन्च र सातवटा बाँसका चेक ड्याम बनाइएको छ । निर्माण साझेदारले संयुक्त रुपमा सो प्रणाली त्यसको सञ्चालन गर्ने विधि समेटिएको पुस्तिका महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोललाई शुक्रबार हस्तान्तरण गरे । परियोजनाबारे बुझिसकेपछि उपप्रमुख डंगोलले, बालाजु क्षेत्रमा पानीको प्राकृतिक वहाव बढ्ने अपेक्षा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सहरमा पानीको अभाव छ । बर्खाको पानी बगेर खेर जान्छ । हिउँदमा पानीको अभाव आउँछ । यसलाई सन्तुलन गर्न पानी पुनःभरण प्रणालीको प्रवर्धन गरिरहेका छौं ।’ उहाँले थप्नुभयो, ‘काठमाडौंमा सबैभन्दा धेरै पानीको अभाव हुने क्षेत्रका खुला ठाउँबाट पानी पुनःभरण प्रणाली विकास गर्ने अबको हाम्रो योजना हो ।’

यस्तै, वाटर एडका नेपाल निर्देशक जेसम थोमस, बोटलिङ् इन्भेष्टमेन्ट ग्रुपका स्टेफिन यिपले स्वच्छ पानीको पहुँच बढाउन साझेदारीका थप काम गर्न सकिने धारणा राख्नुभयो ।

सेन्टर फर इन्टिग्रेटेड अर्वन डिभलपमेन्टका कार्यकारी निर्देशन नविन महर्जनले पानी पुनःभरणका कार्यक्रम बढाउन थालेपछि सामाजिक सचेतना र सहभागिता बढ्ने अपेक्षा व्यक्त गर्नुभयो । तीब्र सहरीकरणका कारण बढ्दै गएको पानीको चरम अभाव कम गराउन यसप्रकारका प्रयासले समुदायले दायित्व लिँदै जाने अपेक्षा गरिएको छ ।

परम्परागत रुपमा काठमाडौंबासीले पानीका प्रमुख स्रोतका रुपमा भूमिगत जल नै प्रयोग गर्ने गरेका थिए । राजकुलो र पोखरीबाट पानी पुनःभरण हुने गथ्र्यो । जमिनमा जम्मा भएको पानी तल जान सक्थ्यो । पछिल्लो समयमा अत्याधिक भूमिगत पानी दोहन हुन थाल्यो । अव्यवस्थित भवन निर्माण र सडकले सतहको पानी जमिनमुनि पस्न पाएको छैन् ।

जलवायु परिवर्तनका कारण वर्षा हुने समय र मनसुनी प्रक्रियामै पनि निकै परिवर्तन गर्दै लगेको छ । पछिल्लो समय अतिवृष्टि र खण्डवृष्टि हुन थालेको छ, जसले छोटो अवधिमा अधिक पानी पर्ने त कतै पानी नै नपर्ने अवस्था देखिएका छन् । यी सबै चुनौतिकोबीचमा खानेपानीको पुर्नभरण उपतयका जस्ता ठूला सहरमा अत्यावश्यक जस्तै भएको छ । प्राकृतिक रुपमा पानी पुनःभरणमा महानगरपालिकाले जोड दिएको छ ।