१९ असार २०८३, शुक्रबार

गुञ्जिरहेछ ‘सपना भुलाई सारा…’

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ माघ । वरिष्ठ गायक, संगीतकार तथा गीतकार योगेश वैद्यले ७७ बर्षको उमेरमा विहीबार राति सँधैका लागि आँखा चिम्लिनुभयो ।

नेपाली सुगम संगीतका मुर्धन्य स्रष्टा बैद्य जीवनको अन्तिम कालसम्म गीत गुनगुनाउन चाहनुहुन्थ्यो तर एक्कासी आएको ज्वरो र रुघाका कारण उहाँको शरीरले विश्राम लियो । उहाँ सँधैका लागि अलप हुनुभयो । तर शुभेच्छुकहरु योगेशको महाप्रस्थानपछि ‘सपनाभुलाई सारा आँसु लिएर जाउ’ गुनगुनाइ रहँदा स्तब्ध भएका छन् ।

किरण खरेलको शब्द र नातिकाजीको संगीतमा योगेशको पहिलो गीत ‘कतिप्यासी छ जिन्दगी..’ रेकर्ड गराएपछि उहाँ सांगीतिक क्षेत्रमा उदाउनु भएको थियो । त्यसपछि उहाँले एउटा नेवारी गीत पनि गाउनुभयो ए, ‘जीवनजिगु…’ ।

सरकारी जागिरे जीवनसँगै गीत संगीतको भीडमा अलग्गै पहिचान बनाउनु भएका योगेशले २०४४ सालमै गाएको गीत ‘सपना भुलाई सारा’ साँच्चै कालजयी मानिन्छ । जसका कारण उहाँ सांगीतिक आकाशमा भिन्नै पहिचान बनाउन सफल हुनुभयो । साहित्यकार उषा शेरचन ‘सपना भुलाइ सारा’ सुनेर कहिल्यै नअघाउने कालजयी गीत भएको प्रतिक्रिया दिनुहुन्छ । आरआर क्याम्पसमा योगेशकी बहिनीसँगै पढेको जानकारी दिंदै शेरचनले सामाजिक संजालमा लेख्निुहुन्छ,‘ उहाँको निधन भएको अपत्यारिलो खबर पढेर झस्किएँ पनि र विश्वास गर्न गाह्रो पनि गाह्रो भयो । हुन त उहाँ शारीरिक हिसाबले बिसन्चो भएको त धेरै भइसकेको थियो । तर मानसिक हिसाबले भने तन्दुरुस्त हुनुहुन्थ्यो र सामाजिक सञ्जाल फेसबुकमा पनि निकै सक्रिय हुनुभएको कारणले पत्याउन गाह्रो पर्यो मलाई ।’

२०७७ सालको फागुनमा देब्रे खुट्टाको अप्रेसन गर्नु पर्दा करिब तीन महिना अस्पताल बस्नु भएका योगेश पछिल्लो समय स्टुडियोमा पुगेर गीत गाउन सक्ने अवस्थामा हुनुहुन्नथियो । तर संगीत भर्न र गीत लेख्न भने व्यस्त हुनुहुन्थ्यो । नेपालमा कोरोनाको महामारी देखिनुअघि एउटा गीति संग्रह समेत बजारमा ल्याउनु भएका गायक वैद्यको आफ्नो स्वरमा अर्को गीति संग्रह ल्याउने योजना भने अधुरै रहयो ।

गीतकार भुपेन्द्र खड्का योगेशलाई मार्मिक रुपमा स्मरण गर्दै लेख्नुहुन्छ,‘७६ वर्षको उमेरमा पनि खल्तीबाट काइँयो निकालेर कपाल कोर्ने दाइ पाउने छैन । राजसी शैलीमा बाँच्नुपर्छ भन्ने प्रेरणा पाउने छैन । त्यो फरक र मखमली आवाजको सम्बोधन सुन्न पाउने छैन । तर हृदयको नादबाट गुन्जिएका ती गीतहरूले मलाई भुल्न दिने छैनन् । सपना भुलाई सारा, आँखैमा रात गली, नेपाल मेरो । अलविदा योगेश वैद्य दाइ !’
हुन त योगेश पढाइमा पनि उस्तै निपूर्ण हुनुहुन्थ्यो । त्रिभुवन विश्वविद्यालयबाट वनस्पति शास्त्रमा र गेन्ट स्टेट विश्वविद्यालय बेल्जियमबाट खाद्य तथा पोषणमा स्नातकोत्तर गर्नुभएको थियो । वैद्यले तीन दशकभन्दा बढी सहसचिव स्तरको प्राविधिक सरकारी सेवामा रहेर काम गर्दा पनि नेपाली गीत संगीतलाई निरन्तरता दिनुभएको थियो ।

लामो समयदेखि मृगौला सम्बन्धी समस्याबाट पीडित योगेश पछिल्लो समय क्रमश: थलिदै जानुभएको थियो । बाहिर हिडडुल गर्न रकार्यक्रममा सहभागी हुन सकिरहनु भएको थिएन । तर संगीत साधना र समर्पण ताजा थियो । संगीतमा पृथक उचाइ थियो उहाँको ।
करिब पाँच सय नेपाली गीत तथा झन्डै एक सयभन्दा बढी नेपाल भाषाको गीतमा स्वर दिनुभएका उहाँ पछिल्लो समय पक्षघातसम्बन्धी समस्या समेत झेलिरहनु भएको थियो ।

२०२५ सालमा किरण खरेलको शब्द र नातिकाजीको संगीतमा ‘कति प्यासी छ जिन्दगी’ गीत गाएपछि विस्तारै चर्चा कमाउनु भएका योगेशले मवी विशाहले लेखेको ‘नेपाल मेरो तिमीलाई उपहार भो’ गीत २०२७ सालमा रेकर्ड गराउनु भएको थियो । तर ०४५ सालमा गाएको ‘सपना भुलाइ सारा’ बहुचर्चित बन्यो ।

गीतकार महेश आचार्यले उही शब्दहरु संजालमा पोष्ट गरे । गायक प्रमोद खरेल लेख्नुहुन्छ,‘नेपाली संगीत क्षेत्रमा एकपछि अर्को वियोगको घटनाले दु:खी बनायो । ‘सपना भुलाइ सारा ऑशु पिएर जाउ । मन्दिरमा छ तिम्रो तस्वीर लिएर जाउ ।’ त्यसैले त शरीर चितामा जल्दै गर्दापनि धेरै शुभेच्छुकहरुले गुनगुनाइरहे ‘सपनाभुलाइ सारा….।’