
काठमाडौं, ५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै छन् ।
आजदेखि सुरु हुने सम्मेलनलाई प्रधानमन्त्री दाहालले पहिलो दिन नै सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘साझा विश्वव्यापी समृद्धिका लागि सहयोगलाई प्रगाढ बनाउने’ विषयको शिखर सम्मेलन युगान्डा गणतन्त्रको राजधानी कम्पालामा भोलिसम्म चल्नेछ ।
प्रधानमन्त्री दाहाले सम्मेलनमा सम्बोधन गरेसँगै युगान्डा गणतन्त्रका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले आज आयोजना गर्ने राजकीय भोजमा सहभागी हुनेछन् ।
यस्तै, शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्री प्रचण्डले सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।
यसैबीच सम्मेलनमा भाग लिन बिहीबार साँझ युगाण्डाको कम्पाला पुगेका प्रधानमन्त्री दाहालले युगाण्डामा रहेका नेपालीहरूसँग अन्तरक्रिया गर्नुभएको छ । भेटघाटमा प्रधानमन्त्री दाहालले अफ्रिकामा रहेका नेपालीहरूले उठाएको समस्या महत्पवूर्ण भएको उल्लेख गर्दै विदेशमा रहेका नेपालीहरूको समस्या सम्बोधन नगरी देशले गति नलिने बताउनुभएको छ । ‘यहाँ तपाईहरूले केही कुरा उठाउनुभयो । ती महत्वपूर्ण छन् । हिजोमात्रै मैले भिजिट भिसाका बारेमा केही महत्वपूर्ण निर्णय गरिएको छ। केही समयअघि आप्रवासन समस्या समाधानका निम्ति सबै राजदुतहरू बोलाएर कुरा गरिएको छ’ दाहाल सचिवालयले जनाएको छ ।
कार्यक्रममा परराष्ट्रमन्त्री एनपी साउदले युगाण्डामा रहेका नेपालीहरूले देशको अवैतनिक राजदुतका रूपमा काम गरिरहेको बताउँदै नेपालीहरूले गर्ने हरेक क्रियाकलापसँग देशको विम्ब जोडिने भएकाले देशको प्रतिष्ठा बढाउने गरी काम गर्न अपील गर्नुभयो ।
नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य हो । स्थापनादेखि नै सबै नाम शिखर सम्मेलनमा सक्रिय रूपमा सहभागी हुँदै आएको छ । असंलग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तमध्ये एक हो ।








प्रतिक्रिया