
काठमाडौं, ४ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारलाई बुख्याचाको संज्ञा दिनुभएको छ ।
पार्टी निकट जनसंगठन नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले सरकारलाई बुख्याँचाको संज्ञा दिनुभएको हो । वर्तमान सरकार बुख्याचा भएकाले केही काम गर्न नसक्ने उहाँले टिप्पणी गर्नुभयो । अध्यक्ष ओलीले एमाले विरोधीहरू एक्लै भिड्न नसक्ने अवस्थाममा पुगेको पनि बताउनु भयो ।
‘हामी मिसन ८४ मा छौं । हाम्रा विरोधीहरू एक्लै लड्छौं भन्ने आँट नै गर्दैनन, हामीमात्रै हौं एक्लै लड्छौं भन्ने । हामी लड्यौं तर उनीहरूले स–साना अंक जोडेर सरकार बनाएका छन,’ पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले भन्नुभयो, ‘ सरकार तरकारी बारीको बुख्याचाजस्तो छ । केही गर्ने होइन । अहिले त त्यसका टाउकामा सुँगा पनि बस्छ, काग पनि । सबैले चिनिसके यो बुख्याचा हो केही गर्न सक्दैन भन्ने । बुख्याचा मात्रै होइन, निकम्मा पनि छ ।’
सरकार भ्रष्टाचार, तस्करी, कमिसनखोरीको संरक्षक बनेको आरोप पनि लगाउनुभयो । विरोधीहरूले जुनसुकै बेलामा प्रहार गर्नसक्ने भएकाले त्यसका विरुद्ध आन्दोलनमा उत्रिन तयार रहन उहाँले पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।
‘यस्तै अवस्था रहिरहे हामीले मिसन ०८४ भनेर पर्खिन नसक्ने स्थिति आउनसक्छ । देश बर्बाद हुन लाग्यो भने कहाँ ८४ को चुनाव भनेर पर्खेर बसेर हुन्छ ?,’ ओलीले भन्नुभयो, ‘उस्तै परे हामीले गठबन्धन भत्काएर, यो लोभीपापीहरू नभत्किन सक्छन् । यीनिहरूको घाँटी एकैठाउँमा जोडिएको छ । त्यसैले हामी जनताको बलमा आन्दोलनमा उत्रिनुपर्ने आवश्यक छ । त्यसअघि हामीले आफूलाई संगठित गर्नुपर्छ ।’
उहाँले एमालेमाथि प्रहार गर्नसक्ने अवस्था भएकाले आफूहरू निर्णायक लडाइँमा रहेको बताउनु भयो ।








प्रतिक्रिया