२६ कार्तिक २०८३, बिहिबार

चन्द्रागिरि नगरपालिकामा १५ शय्याको अस्पताल शिलान्यास

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ माघ । चन्द्रागिरि नगरपालिकाले आफ्नो छुट्टै नगर अस्पताल बनाउने भएको छ ।

चन्द्रागिरि–४  गोदामचौर थानकोटस्थित हाल सञ्चालनमा रहेको ‘थानकोट प्राथमिक अस्पताल’को हाताभित्रै थप १५ श्ययाको नगर अस्पताल बनाउन लागिइएको हो । मन्त्रिपरिषद्को गत फागुन ४ को बैठकले चन्द्रागिरि नगर अस्पताल बनाउन नगरपालिकालाई २३ रोपनी सार्वजनिक जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो । यसपछि नगरपालिकाले फागुन २१ गते अस्पतालको नयाँ भवन निर्माण गर्न बोलपत्र आह्वान गरेको थियो ।

गत असार २० मा चन्द्रागिरि नगरपालिका र निर्माण कम्पनीका बीचमा दुई वर्षभित्रमा भवन निर्माण सम्पन्न गर्ने गरी द्विपक्षीय सम्झौता भएको थियो । करबाहेक रु १७ करोड ४९ लाख ३४ हजार एकसय ९९ मा तीन तल्ले भवन बन्ने जनाइएको छ ।

नगरप्रमुख घनश्याम गिरी, उपप्रमुख वसन्ती श्रेष्ठ, चन्द्रागिरि–१५ का वडाध्यक्ष घनश्याम लुइँटेल, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल लगायतले संयुक्तरुपमा सो भवनको बुधबार शिलान्यास गर्नुभयो ।  सो अवसरमा उपप्रमुख श्रेष्ठले नयाँ बन्ने भवनले चन्द्रागिरि नगरवासीलाई सर्वसुलभ स्वास्थ्य सेवा पुर्‍याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्र्नुभयो भने कार्यकारी अधिकृत अर्यालले भवन निर्माण समयै सम्पन्न गर्न आग्रह गर्नुभयो ।

यसैबीच नगरपालिकाले बुधबारदेखि विद्युतीय घर नक्सा पास प्रणाली कार्यान्वयनमा ल्याएको छ । अब घर नक्सापास सम्बन्धि सबै काम विद्युतीय माध्यमबाट हुने जनाइएको छ ।