
काठमाडौं, ३ माघ । नक्कली मदिरा बनाएर बेचबिखन गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
प्रहरीले काठमाडौंका विभिन्न ठाउँमा नक्कली मदिराको कारखाना र गोदाममा छापा मारेर उनीहरूलाई नक्कली मदिरासहित पक्राउ गर्न सफल भएको हो ।
पक्राउ पर्नेमा रामेछाप, खाँडादेबी गाउँपालिका वडा नं ०२ हाल मुलपानी बस्ने २८ वर्षीय मनोज खत्री, कोटेश्वर बस्ने ३६ वर्षीय बिनोद कुमार कार्की,सिन्धुपाल्चोक, चौतारा गाउँपालिका वडा नम्बर-३ का हाल मुलपानी बस्ने २७ वर्षीय मोहन खड्का, १८ वर्षीय रोशन कार्की, सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर-९ का मुलपानी बस्ने २८ वर्षीय गौरव तामाङ, कोटेश्वर बस्ने ४० वर्षीय लेख ब्रिकम थापा, रामेछाप, मजुवा गाउँपालिका नम्बर-३ का मुलपानी बस्ने २३ वर्षीय महेश खत्री, खाँडादेवी नगरपालिकाका २० वर्षीय मनिश खत्री र काठमाडौं कागेश्वरी मनोहरा वडा नम्बर-६ मुलपानीका ३५ वर्षीय सुमन नगरकोटी रहेका छन् ।
उनीहरूले कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-५ थलि स्थित भरत थापाको २ तल्ले पक्की घर भाडामा लिएर नक्कली मदिरा बनाउँदै आएका थिए ।
उनीहरुले चिनी र पानी मिलाएर पकाउने र त्यसपछि अल्कोहल मिसाएर बजारमा प्रचलित दरभाउभन्दा कम मूल्यमा नक्कली मदिरा बिक्रि गर्ने खुलेको प्रहरीले जनाएको छ । त्यस्तै प्रहरीले बजार पठाउन तयारी अवस्थामा राखिएका बिभिन्न ब्रान्डका मदिराहरु समेत बरामद गरेको छ ।
उनीहरुबाट खुकुरी रम, गोल्डन ओक, फाइटर, सिग्नेचर, ३६५ ब्ल्याक, सगुन ब्राण्डको मदिरा, मिश्रीत तरल पदार्थ, विभिन्न रक्सीहरूको खाली बोतल, आन्तरिक राजश्व बिभागको अन्त शुल्कको स्टिकरहरु, लेवलिङ र प्याकेजिङ गर्न प्रयोग गरिने सामानहरु बरामद भएको हो ।








प्रतिक्रिया