३२ असार २०८३, बिहिबार

एमाले बागमती संसदीय दलको बैठक : सरकारको रवैयाप्रति सशक्त उभिने

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, ३ माघ । बागमती प्रदेशको नेकपा (एमाले) संसदीय दलको बैठकमा प्रदेश सरकारको रवैयाप्रति एमाले सशक्त उभिनुपर्ने आवाज उठेको छ ।

संसदीय दलका नेता जगन्नाथ थपलियाको अध्यक्षतामा सोमबार हेटौंडामा बसेको बैठकमा अधिकांश सदस्यले सरकारप्रति प्रतिपक्षको व्यवहार आवश्यक भन्दा नरम र लचिलो भएकोले सरकारले पेलेर अघिबढ्ने नीति लिएको बताए ।

एमालेका प्राय प्रदेश सभा सदस्यहरुले प्रतिपक्ष सरकार जस्तो लचिलो र सरकार चाहिँ प्रतिपक्ष जस्तो कडा भएको बताए । बैठकमा बोल्दै प्रदेशसभा सदस्य तथा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले जनताको आवश्यकता परिपूर्ति गर्ने र समानुपातिक तथा समतामूलक विकासका लागि एमालेले सशक्त प्रतिपक्षको भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै एमालेका केन्द्रीय सदस्य समेत रहनुभएकी प्रदेश सभा सदस्य भारती पाठकले सरकारका केही मन्त्रीले विकास बजेट दिनुलाई आफ्नो ढुकुटीबाट दान दिएको रूपमा व्यवहार गर्न थालेको बताउनुभयो । उहाँले सरकारको दम्भ र स्वेच्छाचारीतामा मलजल पुग्ने काम नगर्न नेतृत्वलाई खबरदारी गर्नुभयो ।

संसदीय दलका प्रमुख सचेतक मधुसूदन पौडेलले सरकारले आफूहरूको मागको गलत व्याख्या गरेको बताउनुभयो । संसदीय समितिको पदाधिकारी टुङ्ग्याइनु पर्ने एमालेको मागलाई सरकारको एक मन्त्रीले एमालेले सबै समितिको सभापति माग्यो भनेर हल्ला गर्दै हिँडेको समेत पाइएको बताउनुभयो ।

‘हामीले समानुपातिक र समावेशी विकास हुनुपर्ने र त्यसका लागि बजेट पुस्तकमा नपारिएका तर आमनागरिकका सवालमा गर्नै पर्ने योजनाको विवरण पेश गर्‍यौ, सरकारले त्यो कार्यान्वयन गर्ने लिखित सम्झौता पनि गर्‍यो , तर त्यो कार्यान्वयन गर्नुको साटो एमालेले पैसाको कुरा नमिलेर संसद चल्न दिएन भन्ने जस्ता हल्ला चलाएको छ ।’ उहाँले भन्नुभयो ।

संसदीय दलका नेता थपलियाले हाल सरकार प्रतिपक्षीको मागप्रति केही लचिलो देखिए पनि स्वेच्छाचारी गतिविधि गर्न नछाडेकाले विश्वास गर्न नसकिने बताउनुभयो । उहाँले एमाले जनताको पार्टी भएकोले जनताका पक्षमा डटेर लागिरहनु पर्ने बताउनुभयो । आफ्ना दलका प्रदेश सभा सदस्यलाई प्रदेश सभाको आगामी बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिँदै नेता थपलियाले परिस्थिति अनुसार चल्न तयार रहन आग्रह गर्नुभयो ।