३२ असार २०८३, बिहिबार

भूकम्पबाट बच्न भूकम्प थेग्ने संरचना बनाउनुको विकल्प छैन : मन्त्री गुरूङ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । सहरी विकासमन्त्री सीता गुरूङले भूकम्पबाट बच्न भूकम्पीय जोखिमलाई थेग्न सक्ने संरचना बनाउनुको विकल्प नभएको बताउनुभएको छ ।

मंगलबार २६औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै मन्त्री गुरूङले गाउँ–गाउँमा समेत स्थानीय श्रोत र प्रविधिको प्रयोग गरेर भूकम्पीय जोखिम न्यूनीकरण गर्ने गरी संरचनाहरू बनाउन सकिने बताउनुभयो ।

सरकारले भवन निर्माण संहिता र मापदण्ड जारी गरेर लागू गरेको भन्दै मन्त्री गुरूङले त्यसको कार्यान्वयनमा समेत सबैले जोड दिनुपर्ने बताउनुभएको छ । ‘सरकारले राष्ट्रिय भवन संहिता र मापदण्ड जारी गरेको छ । अहिलेसम्म त्यसको कार्यान्वयनमा स्थानीय तहले धेरै चासो दिएको अवस्था छैन,’ मन्त्री गुरूङले भन्नुभयो, ‘यदि स्थानीय तहले त्यसको पूर्ण कार्यान्वयन गर्ने हो र स्थानीय श्रोत साधन तथा प्रविधिको उच्च उपयोग गर्ने हो भने भूकम्पीय जोखिमलाई कम गर्न सकिन्छ । हाम्रो पूर्वाधार हाम्रै ज्यानको असुरक्षाको आधार बन्न पाउँदैनन् ।’

भूकम्प जुनसुकै बेला पनि आउनसक्ने भएकाले सबै खालको पूर्वतयारी रहेको उहाँको भनाइ थियो । ‘भूकम्पबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न सबैले सतर्कता अपनाउन आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘राष्ट्रिय भवन संहिता र मापदण्डको अनिवार्य पालना गर्ने र स्थानीय श्रोतसाधनको उपयोग गर्ने हो भने भूकम्प थेग्ने संरचना खडा गर्न सकिन्छ ।’