२८ असार २०८३, आइतबार

टुँडिखेलमा भागदौड हुँदा घाइते हुनेको संख्या १६ पुग्यो

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ माघ । माघी मनाउन टुँडिखेलमा जम्मा भएकाहरुबीच भागदौड हुँदा घाइते हुनेको संख्या १६ पुगेको छ ।

माघे सङक्रान्तिको अवसरमा मगर र थारु समुदायले आज टुँडिखेलमा आयोजना गरेको छुट्टा–छुट्टै कार्यक्रममा सहभागीबीच भागदौड हुँदा १६ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो ।

घाइतेहरुको उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको उहाँको भनाइ छ । महोत्सवमास्थलमा प्रवेश गर्ने र बाहिरिनेबीच धकेलाधकेल हुँदा उनीहरु घाइते भएको प्रहरीको भनाइ छ ।

घाइते भएकामा १२ वर्षीया त्रिसना मगर, १२ वर्षीया अञ्जना तामाङ, १९ वर्षीया रेजिना घले, १६ वर्षीया निकिता मगर, ३० वर्षीया रेखा चौधरी, १६ वर्षीया अनिसा केसी छन् । साथै २५ वर्षीया कल्पना चौधरी, २२ वर्षीया मन्दिरा बस्नेत, ४० वर्षीया मिना थापा, १९ वर्षीया रिजा रेस्मी मगर, प्रहरी जवान पृथ्वी बुढामगर, २५ वर्षीया निशा राना थापा, २२ वर्षीया निर्मला श्रेष्ठ, २७ वर्षीया रश्मी नेपाल, ११ वर्षीया युनिका बराल, १४ वर्षीया करिश्मा मगर रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक ढुङ्गेलले बताउनुभयो ।