२४ असार २०८३, बुधबार

राष्ट्रिय सभामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको प्रतिनिधि मनोनीत गर्न माग

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ माघ । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुले राष्ट्रिय सभामा आफ्नो प्रतिनिधित्व हुनुपर्ने माग राखेका छन् ।

मायाको पहिचान नेपालले राष्ट्रिय सभामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका एक सदस्यलाई मनोनीत गर्न राष्ट्रपतिसँग माग गरेको हो ।

पहिलो संविधान सभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशन सुनिलबाबु पन्तले राष्ट्रिय सभामा कमसेकम एकजना यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व गराउन राष्ट्रपतिसँग माग गर्नुभयो ।

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभा सदस्यमा एकजना मनोनीत गर्न पाउनुहुनेछ । पन्तले राष्ट्रिय सभामा समुदायबाट एक जना भएपनि लैजान माग गर्नुभएको हो । ‘कमसेकम एक जना यो समुदायलाई राष्ट्रपतिले मनोनीत गर्न सक्नुहुन्छ,’ पन्तले भन्नुभयो, ‘यो समुदायको किन नराख्ने ?’

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई समावेश गराउन मायाको पहिचान नेपालले राजनीतिक अभियान सञ्चालन गर्ने पन्तले जानकारी दिनुभयो । समुदायका सदस्यलाई राजनीतिमा आउन पन्तले आव्हान पनि गर्नुभयो ।

राजनीतिक दलमा आबद्ध हुन, चुनाव प्रचारप्रसार गर्न र चुनाव जितेपछि कसरी काम गर्ने भनेर सिकाउन मायाको पहिचान नेपाल काम गर्ने उहाँले बताउनुभयो ।

संघीय संसद्, न्यायाधीशहरू, कानुन व्यवसायी, राजनीतिक दल, सरकारलाई समुदायकोबारे बुझाउने काम पनि गर्ने उहाँले बताउनुभयो । ‘यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायबारे पाठ्यक्रममा राखेपनि शिक्षकहरूलाई पढाउन आउँदैन, शिक्षामा छात्रवृत्ति छैन,’ पन्तले भन्नुभयो । उहाँले श्रम ऐन सहित यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायमाथि विभेद हुने २०/२५ वटा कानुन संशोधनका लागि पहल गर्नुपर्ने बताउनुभयो ।

मायाको पहिचान नेपालले सिंहदरबार पूर्वीगेट अगाडि अनामनगरमा सोमबारदेखि कार्यालय सञ्चालनमा समेत ल्याएको छ । कार्यालयको उद्घाटन गर्दै सिद्धी गणेश टोल विकास समितिका अध्यक्ष आरबी ठकुरीले माया गुरुङ्ग र सुरेन्द्र पाण्डेले विवाह गर्नु अगाडि धेरै बाधा अड्चन भोग्नु परेको सुनाउनुभयो ।

समर्पण सभ्य समाजका सचिव हनि महर्जनले सुनिलबाबु पन्तकै कारण नेपालका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई विश्वसामु चिनाउन सजिलो भएको बताउनुभयो ।

मायाको पहिचान नेपालकी अध्यक्ष माया गुरुङ्गले मन मिल्ने जीवन साथीसँग विवाह गर्न पाउनुपर्ने बताउनुभयो । यौनिक तथा लैङ्गिक अल्पसंख्यकको आवाज नउठाउँदा सडकमा उभिनुपर्ने अवस्था आएको उहाँले बताउनुभयो ।
मायाको पहिचान नेपालका उपाध्यक्ष मधु केसीले नेपालमा रहेका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको हक अधिकारको मुद्दालाई सशक्त रूपमा सफल बनाउन कटिबद्ध भएर अगाडि बढ्ने बताउनुभयो ।