
काठमाडौं, १ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले जनताका आशालाई निराशामा परिणत नगर्न र संविधान कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभएको छ ।
सोमबार माघे संक्राति एवं माघी पर्वको अवसरमा शीतल निवासमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानले परिकल्पना गरेको कुरा कानुनद्वारा व्यवस्थित गर्न जरुरी रहको भन्दै जनताका आशालाई निराशामा परिणत नगर्न संविधान कार्यान्वयनमा जान आवश्यक रहेको बताउनुभएको हो ।
‘संविधानले जुन परिकल्पना गर्यो त्यसलाई कानुनद्वारा व्यवस्थित गर्न जरुरी छ । ति कानुनहरूको निर्वाह छिटो भन्दा छिटो हुन जरुरी छ । मेरो सबैलाई अनुरोध शुभकामना र आग्रह छ कि संविधान कार्यान्वयनमा जाऔँ । अब आशालाई निराशामा परिणत नगरौं,’ उहाँले भन्नुभयो, ‘देशमा निराशा बढेको छ । त्यो भनेको संविधान कार्यान्वयन नहुँदा भएको हो । संविधान कार्यान्वयनको कमीले हो । अब पछाडि फर्किन कोही जनता चाहँदैनन् । जनताको चाहना र भावना मैंले पनि बुझेको छु । विदेशबाट आएकाको मात्र होइन देशभित्रका जनताको पनि अगाडि बढ्ने चाहना छ ।’
राष्ट्रपति पौडेलले, संविधानलाई कार्यान्वयन गरी देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्र साकार पार्ने हो हामीले यही अठोट लिनुपर्नेमा जोड दिनुभयो । उहाँले अहिले माघे संक्राति सबै नेपालीको पर्व भइसकेको भन्दै शुभकामना व्यक्त गर्नुभयो ।








प्रतिक्रिया