२९ असार २०८३, सोमबार

गोदावरीमा ‘बाह्रराशि दर्शन मकर मेला’

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुदूरपश्चिम, २९ पुस । पवित्र देवभूमि—वेदभूमि प्रवेशद्वाराका रुपमा रहेको कैलालीको गोदावरी धाममा आज ‘बाह्रराशि दर्शन मकर मेला’ प्रारम्भ भएको छ । सुदूरपश्चिम प्रदेशप्रमुख देवराज जोशीले आज मेलाको शुभारम्भ गर्नुभयो ।

प्रत्येक वर्ष कुनै एक राशिमा कुम्भ मेलाको योग पर्ने गरेको भन्ने शास्त्रीय मान्यताअनुसार कुम्भ मेलाको प्रतीकका रुपमा आजदेखि माघ १२ गतेसम्म १२ दिवसीय बाह्रराशि दर्शन मकर मेला सुरु गरिएको आयोजक गोदावरीधाम विकास समितिका अध्यक्ष पदमराज जोशीले बताउनुभयो । मेला अवधिभर धाम क्षेत्रमा रहेको कुम्भ वाटिकामा भक्तजनका लागि बाह्रराशि, नवग्रह, २७ नक्षेत्र र बाह्र आदित्यको दर्शन एवं पूजा गर्न सकिने व्यवस्था मिलाइएको छ ।

बाह्रराशी दर्शन मकर मेलाको आयोजनाले यो धामको धार्मिक पर्यटनको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गरिएको छ । केही वर्षअघि यसै क्षेत्रमा एक महिनासम्म ‘शहस्त्र कुम्भ दर्शन मेला’ गरिएको थियो । कुम्भ दर्शन मेला र बर्सेनि हुने बाह्रराशि दर्शन मेलाको आयोजनासँगै पछिल्ला वर्षमा यो क्षेत्रमा विभिन्न धार्मिक संरचना निर्माण भइरहेका छन् । गत वर्षको बर्खायाममा गोदावरी नदीमा उर्लिएको बाढीले यस क्षेत्रमा बनेका धार्मिक संरचनामा क्षति पुर्‍याएको थियो ।

पश्चिम नेपालमा सम्भवतः सवैभन्दा ठूलो (५२ फिट अग्लो) हनुमानको मूर्ति यही ठाउँमा रहेको छ । सुदूरपश्चिम प्रदेशका सातवटा पहाडी जिल्लाको मुख्य प्रवेशद्वार, चुरे पहाडको फेदमा रहेको यो क्षेत्रलाई सप्त गोदावरीमध्येको प्राचीन गोदावरी रुपमा पनि लिने गरिन्छ । धनगढीदेखि २४ किलोमिटरको दूरीमा उत्तरतर्फ रहेको यो धाममा पवित्र गोदावरी नदी, मठमन्दिर, धर्मशाला र बौद्ध गुम्बा छन् ।

बृद्ध गौतमीका नामले समेत चिनिने यो क्षेत्रमा भगवान् श्रीकृष्णले स्नान गरेको हो भन्ने स्कन्द पुराणमा उल्लेख गरिएकाले पनि यसको धार्मिक महत्व ठूलो छ । गोदावरी नदीमाथि स्टिल र काठ प्रयोग गरी झण्डै छ दशकअघि बनाइएको पुलमा तस्बिर लिने र टिकटक बनाउने युवायुवतीको दैनिक भीड लाग्ने गरेको छ ।