१० असार २०८३, बुधबार

सरकार यति धेरै कमजोर भइसकेको छ कि कमजोरी चर्चा गर्ने ठाउँ नै छैन : शंकर पोखरेल

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ पुस । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाललाई स्थिरता र विकास तर्फ लैजाने हो भने धेरै दल होइन बलियो राष्ट्रिय शक्ति आवश्यक पर्ने बताउनुभएको छ ।

आइतबार प्रेस चौतारी नेपाल दाङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोखरेलले देशको स्वतन्त्रता, स्वाभिमान, सामाजिक न्याय, विकास र राष्ट्रिय हितको लागि काम गर्ने राष्ट्रिय शक्ति आज आवश्यक रहेको बताउनुभयो । एमाले यी काम गर्न सक्ने पार्टी भएकोले एमालेलाई राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्नुपर्नेमा पोखरेलले जोड दिनुभयो ।

अहिलेको हङ पार्लियामेन्टमा समीकरणको जोड घटाउ गर्दा सरकामा पुग्न सक्ने स्थिति भएको भए पनि एमाले त्यसमा नलागेको उहाँले बताउनुभयो । एमाले मुलुकमा स्थायित्व, स्थिरता र विकासको लागि नयाँ ढङ्गले जानुपर्छ भन्ने पक्षमा रहेको पोखरेलले प्रष्ट पार्नुभयो । ‘नेकपा एमाले अस्थिरताको खेलमा सामेल हुन चाहँदैन’, पोखरेलले प्रष्ट शब्दमा भन्नुभयो । अहिले गठबन्धन सरकारको कारण सर्वत्र निराशा छाएको भदै पोखरेलले चिन्ता व्यक्त गर्नुभयो ।

युवाको विदेश पलायनको क्रम यस वर्ष इतिहासकै सबैभन्दा बढी भएको उहाँले बताउनुभयो । रोजगारीका नाममा होस् वा शिक्षाको नाममा यति धरै युवा बिदेसिँदा देश बनाउन युवाको अभाव झेल्नु पर्ने स्थिति उत्पन्न भएको पोखरेलको निष्कर्ष छ । ‘यो सरकाले आफूले त गर्न सकेन सकेन, भविष्यलाई समेत अन्धकारमा पार्ने हिसाबले जनतामा निराशा पैदा गर्ने जुन काम गरेको छ त्यो कामलाई बदल्नु पर्दछ, नयाँ आशा जागृत गराउनु पर्दछ’, पोखरेलले भन्नुभयो–‘नेपालीहरूले नै नेपाल बनाउने हो भन्ने मान्यतालाई स्थापित गर्नको लागि, भविष्यलाई सुरक्षित गर्नको लागि हामीले बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने संकल्प गर्ने तर्फ अगाडि बढ्नु पर्दछ ।’

वर्तमान गठबन्धन सरकारको कमी कमजोरी चर्चा गर्नु पर्ने विषय नै नभएको उहाँले बताउनुभयो । ‘सरकार यति धेरै कमजोर भइसकेको छ कि कमजोरी चर्चा गर्ने ठाउँ नै छैन’, उहाँले भन्नुभयो । सरकारकै कारण व्यवसायीहरू नेपालका लगानी गर्न तयार नरहेका उहाँले बताउनुभयो । सरकारको विकास विरोधी क्रियाकलाप, सरकारको अयोग्यता तथा नालायकीपनका कारण देशमा लगानीको वातावरण नभएको उहाँले स्पष्ट पार्नुभयो ।

सरकारको विकार विरोधी क्रियाकलाप र तस्कर तन्त्रको सामान्य आलोचना गरेर हुने स्थिति नरहेको पोखरेलको धारणा छ । यसको जबरजस्त प्रतिवाद गर्नुपर्ने बेला आएको उहाँले बताउनुभयो । ‘अब सडक आन्दोलनमा जानु पर्ने स्थिति उत्पन्न भयो भन्ने खालको बुझाइमा छौँ, हामी निकट भविष्यमा सरकारको अकर्मण्यताको विरुद्ध जनपरिचालन गर्ने योजनाका साथ अघि बढ्दै छौँ’, उहाँले भन्नुभयो ।

अहिले नेपाललाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थलको रूपमा नेपाललाई विकास गर्ने जोखिम बढ्दै गएको भन्दै पोखरेलले चिन्ता व्यक्त गर्नुभयो । भारत र चीनलाई मिल्न नदिने त्यसको लागि नेपाली भूमि प्रयोग गर्ने षडयन्त्रमा केही शक्ति राष्ट्र लागेको पोखरेलको भनाइ छ । एसियालाई विश्व अर्थतन्त्रमा अघि बढ्न नदिन यस किसिमका षडयन्त्र भएका उहाँले सुनाउनुभयो । विश्वका महाशक्तिहरू एसियाभित्र द्वन्द्व सिर्जना त्यसको लाग लिने योजना अनुसार लागेका पोखरेलले बताउनुभयो । ‘भारत र चीनलाई मिल्न नदिने, नेपाल भूमिलाई त्यो रणनीति द्वन्द्वको क्रिडास्थलको रूपमा प्रयोग गर्ने योजना अन्तर्गत नेपालका बलियो राष्ट्रिय शक्ति बन्न नदिने, अस्थिरता सिर्जना गरिरहने खालका क्रियाकलाप पछिल्लो समय बढेर गएका छन्’, उहाँले भन्नुभयो ।

अहिलेका नेपालका प्रधानमन्त्री विदेश जाँदा मुलुकको हितका निम्ति के काम गर्छन् भन्दा पनि के गुमाउने हो भन्ने चिन्ताको स्थिति रहेको उहाँले बताउनुभयो । जताको सरकार प्रति यति ठुलो अविश्वास बढ्नु दुखद कुरा भएको पोखरेलले बताउनुभयो । विकास निर्माणका हिसाबले यति अयोग्य सरकार नेपालको इतिहासमा नै नरहेको उहाँले बताउनुभयो । निर्माण व्यवसायीले गरेको कामको पैसा समेत नपाउने स्थिति रहेको पोखरेलले सुनाउनुभयो । सरकारको गलत नीतिको कारण यस्तो अवस्था आएको पोखरेलको भनाइ छ ।

भारत भ्रमणमा जाँदा मुर्रा राँगा लिएर आउनु भएको प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालका कम लागतमा बन्ने विद्युत् आयोजना जति भारतलाई उपहार दिएर आउनुभएको बताउनुभयो । नेपालीकै लागतमा बनाउनु पर्ने विद्युत् आयोजना भरतलाई दिएर प्रधानमन्त्रीले राष्ट्रघाती काम गर्नुभएको उहाँको भनाइ छ । भारतीय दूतावासले नै २० करोडसम्मका योजना सञ्चालन गर्ने सम्झौता अर्को राष्ट्र विरोधी सम्झौता भएको उहाँले प्रष्ट पार्नुभयो । ‘आफ्नो कार्यकारी अधिकार नै प्रयोग गर्न नसक्ने सरकारले कसरी राष्ट्रियता संरक्षण गर्न सक्छ ?’, उहाँले प्रश्न गर्नुभयो ।

देशमा नै बिजुली नपुगेको र पुगेको ठाउँमा पनि जुनकिरी जस्तो बिजुली पुगेको देशले १० हजार मेघाबाट बिजुली भारतलाई बेच्ने सम्झौता गरेको भनेर हर्षबढाइँ गरिरहेको उहाँले बताउनुभयो । जनतालाई गुणस्तरीय बिजुली दिन नसकेको अवस्थामा बिजुली बेच्ने सम्झौता गरियो भनेर हर्षबढाइँ गर्नुको कुनै अर्थ नभएको उहाँको भनाइ छ । नेपालको विकासको लागि देश भित्रै बिजुलीको खपत बढाउनु पर्ने उहाँको जोड छ । यतिबेला जातीय अतिवाद बढाउने र राजनीतिक अस्थिरता कायम गर्ने काम सरकार आफैले गरिरहेको पोखरेलले सुनाउनुभयो । आफैले गरेको निर्णयबाट पछि हटेर कोशी प्रदेशमा हिंसा बढाउने काम सरकारले गरेको उहाँले बताउनुभयो ।

नेकपा एकालेले सम्पन्न गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प यात्राले यसलाई चिर्ने काम गरेको उहाँले प्रष्ट पार्नुभयो । यो यात्राले एमालेले मात्र राष्ट्रलाई एउटै मालामा गाँस्न सक्दछ भन्ने सन्देश दिएको उहाँले दाबी गर्नुभयो । यात्राले निराश हुँदै गएका जतामा आशा जगाउने काम गरेको पोखरेलले बताउनुभयो । पोखरेलले राजतन्त्रको पुनर्स्थापना पनि यी चुनौतीको समाधान नभएको प्रष्ट पार्नुभयो । मरिसकेको राजतन्त्रले नेपाल र नेपालीका चुनौती समाधान गर्न सक्छ भन्ने भ्रममा नपर्न उहाँले आग्रह गर्नुभयो ।