
चितवन, २९ पुस । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पूर्व–पश्चिम रेलमार्गको प्रस्तावित मार्गका विषयमा दुई विकल्प अघि सार्नुभएको छ । भरतपुरको वडा नम्बर ८, ७, ४ र १६ बाट जाने भनिएको रेलमार्गलाई त्यहाँबाट नभई अन्य दुई विकल्पका माध्यमबाट अघि बढाउन सकिने उहाँको प्रस्ताव छ ।
भरतपुर महानगरपालिकामा शनिबार नेपाल सरकारका भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालासहित सरोकारवालासँगको छलफलमा मेयर दाहालले वडा नम्बर ११ र १२ बाट नवलपुर वा राप्ती करिडोर हुँदै गोलाघाटबाट नवलपुर उपयुक्त विकल्प हुन सक्ने बताउनुभयो ।
मन्त्री ज्वालालाई मेयर दाहालले रेलमार्गको कार्य स्थानीयसँगको सहयोग र सहकार्यबाट टुङ्गोमा पुर्याउनुपर्ने धारणा राख्नुभयो । ‘रेल मार्गका लागि विकल्पहीन कुरा गर्न मिल्दैन,’ उहाँले भन्नुभयो, ‘अहिलेको मार्गबाट धेरै क्षति पुग्छ भने हामीले नै अर्को विकल्प दिन सक्नुपर्छ । हामी रेलवे लाईन पनि चाहियो, भरतपुरमा रेलवे लाईन नहुँदा भरतपुर विकासबाट पछि पर्नेछ ।’
मेयर दाहालले अहिलेको विषयलाई पुनअवलोकन हुनुप¥यो भनि छिटोभन्दा छिटो स्थानीयको माग सम्बोधन गराउने उद्देश्यले सरोकारवालाबीच छलफल कार्यक्रम राखिएको प्रष्ट पानुभयो । केही दिनअघि प्रस्तावित मार्गमा रेल विभागको सर्भे गर्ने काम सुरु भएसँगै स्थानीयहरु आन्दोलित भई महानगरपालिकालाई ज्ञापनपत्र बुझाएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले अहिलेका लागि प्रस्तावित रेल मार्गको कार्य स्थगित भएको बताउनुभयो । केही दिनमा रेल विभागको महानिर्देशकसहित प्राविधिक टोलीले विकल्प दिएका रुटको बारेमा अध्ययन गर्ने मन्त्री ज्वालाले बताउनुभयो । यस्ता आयोजनाहरु जनतासँगको छलफलको निष्र्कषपछि मात्रै अगाडि बढ्ने भएकाले तत्काल काम नहुने प्रष्ट पार्नुभयो ।









प्रतिक्रिया