
काठमाडौं, २८ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका २१ जना सांसदले मुलुकका २१ वटा आयोजनाहरुमा पैदलयात्रा गर्ने भएका छन् । यो घोषणा पार्टीद्वारा शनिबार राजधानीमा आयोजित समारोहमा सभापति रवी लामिछानेले गर्नुभएको हो ।
पार्टीको एक वर्षको गतिविधि सार्वजनिकीकरण कार्यक्रममा उहाँले २१ जना सांसदको भागमा एउटा–एउटा आयोजना दिइने र ती अधुरो हुनुको कारण खोजेर सरकारलाई समाधान पत्र सरकारलाई बुझाउने बताउनुभयो ।
‘लामो समयदेखि नबनेका आयोजनाहरुको एउटा होइन्, २१ वटा आयोजनाहरुमा पैदलयात्रा सुरुवात गर्ने छौं । २१ जना सांसदको भागमा एउटा–एउटा आयोजना दिएर दबाब यात्रा गरेर समाधानसहित ज्ञापनपत्र होइन, समाधानपत्र सरकारलाई दिएर त्यो नबनेसम्म खबरदारी गर्ने, मिसन ८० को बारेमा आज म सार्वजनिक गर्न पाउँदा गौरव अनुभव गरेको छु,’ उहाँले भन्नुभयो । देशमा एउटा बाटो बन्न एउटा पुस्ताले कुर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने भन्दै सबैको साथ हुने हो भने सदनलाई जनताको सदन बनाउने उहाँले बताउनुभयो ।
रास्वपा गठनदेखि नै प्रदेश सभा सम्बन्धी व्यवस्थाबारे विमति राख्दै आएका लामिछानेले शनिबार पनि त्यसबारे भन्न छुट्टाउनु भएन । प्रदेश सभा मुलुकलाई चुस्ने र दलका भाग नपाएकाहरुलाई भाग दिने ठाउँ भएको भन्दै उहाँले प्रदेशको यो संरचना व्यवस्थाको लागि सबैभन्दा बढी चुनौती भएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘प्रदेश सभा नेपाललाई चुस्ने र दलका भाग नपाएकाहरुलाई भाग दिने ठाउँ कसले बनायो उनीहरुलाई हाम्रो प्रश्न हो । त्यसकारण प्रदेशप्रति गम्भीर रुपमा सोच्नैपर्ने अवस्था सिर्जना भएको छ । प्रदेशको यो संरचना र यही तरिकाको कानुन नबन्ने हो भने व्यवस्थाको लागि यो सबैभन्दा बढी चुनौती हुन्छ । हाम्रो मिसन चौरासी भनेको योग्य मानिसलाई खोज्ने र योग्यता अनुसारको काम दिने नै हो ।’
मिसन ८४ आफूहरुको मात्रै नभएर सुशासन चाहने सबैको भएको उहाँले बताउनुभयो । नेपाली राजनीतिमा टिकिरहन सुधारका कामहरु गरेर अगाडि बढ्नुपर्नेमा नेताहरुमा त्यस्तो नदेखिएको उहाँले कटाक्ष गर्नुभयो । ‘अहिलेका पुराना दलहरु शासन सत्ता हामी हो, हामी जुटिहाल्छौंं, केही भएन भने झेली गरेर गठबन्धन गरेर पनि जितिहाल्छौं भन्छन्,’ उहाँले भन्नुभयो, ‘त्यो आत्मविश्वास भएर होला, राष्ट्रपतिले चुन्नका लागि राखिएको संख्यामा पनि भर्खरै चुनाव हारेको मान्छेलाई लिएर जानु पर्यो, यो व्यवस्थामा त्यति खतरा कोबाट छ । कसले यो व्यवस्थालाई खतरा गर्यो , परिवर्तनमाथि प्रहार कसले गर्यो, जसले अनुसन्धान हुँदाहुँदैको फाइल बन्द गर्यो, त्यसैले गर्यो ।’
भ्रष्टाचार, ठगी, अन्याय, देशमा मात्रै नभइ नेपालीले विदेशमा पनि भोग्नुपरेको उहाँले बताउनु भयो । ‘ठगीमा पर्नु पनि सामान्य कुरा बनाएर समाजले हरेक अपराध र बेथितिलाई सामान्यीकरण गर्दै यसैमा बाँच्ने बानी पारिरहेको समयमा हामी घन्टी बजाउँदै निस्किएका हौं,’ उहाँले भन्नुभयो, ‘राजनीतिमा कुन हदसम्म गिरेर, अरुलाई गिराउने काम हुन्छ भन्ने कुरा हामीलाई थाहा भएको हुनाले पनि हामी डराएका छैनौं ।’
निरन्तर प्रहार भइरहे पनि नडराउने उद्घोष उहाँको थियो । ‘हामीलाई हार्ने छुट छैन, हामीमाथि जस्तो किसिमको टिकाटिप्पणीको आक्रमण भइरहेको छ, त्यसबाट हामी हार मान्नेवाला छैनौं,’ उहाँले भन्नुभयो, ‘हामीलाई राजनीति आउँदैन भन्ने गरेको छ । त्यो हो, हामीलाई आउँदैन र यो राजनीति तपाईहरुसँगै सकियोस् कामना छ ।’









प्रतिक्रिया